काठमाडौं । सानिमा बैंकले सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी स्वास्थ्य शिविर र पौष्टिक खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले दुर्गम तथा पहुँचबाहिर रहेका समुदायका गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सातै प्रदेशका स्थानीय तहसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
कार्यक्रमअन्तर्गत करिब १ हजार ५० जना गर्भवती तथा सुत्केरी महिलाले प्रत्यक्ष लाभ लिएका छन् । शिविरमा सहभागी महिलाको स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्यकर्मीमार्फत आवश्यक परामर्शसमेत प्रदान गरिएको बैंकले जनाएको छ ।
यस्तै, सहभागी प्रत्येक महिलालाई तीन महिनासम्म पुग्ने स्वास्थ्यवर्द्धक पौष्टिक खाद्य सामग्री पनि वितरण गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार गर्भावस्था र सुत्केरी अवस्थाका महिलामा देखिने कुपोषण, रक्तअल्पता (एनिमिया) लगायत स्वास्थ्य समस्याको न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
सानिमा बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा मानवीय सेवासम्बन्धी सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।