यी हुन् प्रमुख १० पर्यटकीय गन्तव्य

काठमाडाै‌ । नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको सूची सार्वजनिक भएको छ । तथ्यांक कार्यालयले बढी घुमघाम गरेको ठाउँको आधारमा प्रमुख १० पर्यटकीय गन्तव्य सार्वजनिक गरेको हो ।

तथ्यांक कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार काठमाडौं पहिलो स्थानमा रहेको छ । त्यसपछि दोस्रोमा चितवन र तेस्रोमा कास्की रहेका छन् । सार्वजनिक सूचीअनुसार रुपन्देही, बाँके, मोरङ, सुर्खेत, कैलाली, नवलपरासी (पूर्व) र पाल्पा नेपालका शीर्ष १० पर्यटकीय गन्तव्यमा परेका छन् । यी गन्तव्यहरू आन्तरिक पर्यटकका मात्र नभई अन्तर्राष्ट्रिय पर्यटकका लागि पनि नेपालका प्रमुख आकर्षणका रूपमा परिचित छन् ।

काठमाडौं सांस्कृतिक सम्पदा, ऐतिहासिक दरबार क्षेत्र र विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक स्थलका कारण स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षक गन्तव्य हो ।  चितवन वन्यजन्तु सफारी, जैविक विविधता र प्राकृतिक पर्यटनका लागि विश्वभर परिचित छ भने कास्कीले पोखरा, फेवाताल, अन्नपूर्ण हिमश्रृंखला र साहसिक पर्यटनमार्फत ठूलो संख्यामा पर्यटक तान्दै आएको छ । 

यसैगरी रुपन्देहीमा रहेको लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि प्रमुख धार्मिक गन्तव्य हो । बाँके, मोरङ, सुर्खेत, कैलाली, नवलपरासी (पूर्व) र पाल्पाले पनि धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक सम्पदामार्फत पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । 

तथ्यांक कार्यालयले गरेको सर्वेक्षणअनुसार रात बिताउने आन्तरिक पर्यटनका प्रमुख गन्तव्य जिल्लामा काठमाडौं, चितवन तथा कास्की रहेका छन् । मनोरञ्जन तर विदा मनाउने उद्देश्यले गरिने भ्रमणमा कास्की जिल्ला सबैभन्दा लोकप्रिय गन्तव्यका रूपमा देखिएको छ । 

पर्यटकको जनसांख्यिकीय विशेषता पर्यटक घरपरिवारमा युवा उमेर समूहको बाहुल्यता देखिएको छ । जेनेरेसन जेड (१३–२८ वर्ष) को हिस्सा २६ प्रतिशत रहेको छ । त्यसपछि जेनेरेसन अल्फा तथा विटा (०–१२ वर्ष) को हिस्सा २२.६ प्रतिशत तथा जेनेरेसन (२९–४४ वर्ष) को हिस्सा २२.० प्रतिशत रहेको छ ।

सोही दिन फर्किने आन्तरिक भ्रमणको प्रमुख उद्देश्य किनमेल रहेको छ, जसको हिस्सा ३२.६ प्रतिशत रहेको छ । त्यसपछि स्वास्थ्य उपचार तथा साथीभाइ र आफन्त भेटघाटको हिस्सा समान रूपमा २०.१ प्रतिशत रहेको छ।
रात विताउने आन्तरिक भ्रमणको सन्दर्भमा भने साथीभाइ तथा आफन्त भेटघाट प्रमुख उद्देश्यका रूपमा देखिएको छ, जसको हिस्सा ६५.५ प्रतिशत रहेको छ । 

रात विताउने आन्तरिक भ्रमणको औसत अवधि ५.३३ दिन रहेको छ भने एक पर्यटकले वर्षभरिमा औसत ४.८१ पटक यस्ता भ्रमण गर्ने गरेको देखिएको छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा लामो औसत बसाइ अवधि ८.१८ दिन रहेको छ । मधेश प्रदेशमा पनि औसत बसाइ अवधि ८.१८ दिन नै रहेको देखिन्छ । भ्रमण आवृत्तिको दृष्टिले गण्डकी प्रदेश सवैभन्दा अगाडि रहेको छ जहाँ बार्षिक औसत भ्रमण संख्या ६.२६ पटक रहेको छ । सुदूरपश्चिम प्रदेशमा भने यो संख्या ३.३२ पटक रहेको छ ।

भ्रमणको उद्देश्यअनुसार शिक्षा तथा तालिमका लागि गरिने यात्रामा सबैभन्दा लामो बसाइ (औसत ९.१६ दिन) रहेको छ । तीर्थयात्रा तथा किनमेलसम्बन्धी भ्रमणहरू अपेक्षाकृत छोटो अवधिका हुने गरेका छन् ।

वार्षिक भ्रमण आवृत्तिका आधारमा व्यावसायिक भ्रमण सबैभन्दा बढी (औसत ६.९ पटक) हुने गरेका छन् भने विद तथा मनोरञ्जनसम्बन्धी भ्रमणको औसत आवृत्ति ३.०२ पटक रहेको छ।

Share News