शुल्क नतिर्ने मेडिकल तथा डेन्टल कलेजको दर्ता रोक्ने काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विद्यार्थी भर्ना शुल्कलगायतका शीर्षकमा आफूलाई बुझाउनुपर्ने बाँकी रकम नतिर्ने मेडिकल तथा डेन्टल कलेजका विद्यार्थीको प्रोभिजनल दर्ता तथा विदेशी नागरिक चिकित्सक शिक्षकको दर्ता प्रक्रिया रोक्ने चेतावनी दिएको छ ।

काउन्सिलले जारी गरेको सूचनामा नेपालमा चिकित्सा शिक्षा सञ्चालन गरिरहेका विभिन्न प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूले विद्यार्थी भर्ना शुल्क तथा अन्य विभिन्न शीर्षकमा काउन्सिललाई बुझाउनुपर्ने शुल्क लामो समयदेखि भुक्तानी नगरेको जनाएको छ। 

यसअघि काउन्सिलले २०८२ चैत २७ गते  र २०८३ वैशाख २४ गते बक्यौता रकम तिर्न सूचना जारी गरेको थियो।
काउन्सिलका अनुसार सूचना जारीपछि केही प्रतिष्ठानले आफ्नो बक्यौता रकम बुझाए पनि पटक–पटक ताकेता गर्दा समेत केही मेडिकल तथा डेन्टल कलेजले हालसम्म बक्यौता रकम भुक्तानी गरेका छैनन् । 

काउन्सिलले जारी गरेको सूचनामा यसपटकको सूचना र पत्राचारलाई समेत बेवास्ता गरी तोकिएको समयभित्र बक्यौता रकम नतिर्ने प्रतिष्ठान तथा मेडिकल र डेन्टल कलेजका विद्यार्थीको प्रोभिजनल दर्ता र विदेशी नागरिक चिकित्सक शिक्षकको दर्ता प्रक्रिया रोकिने स्पष्ट गरिएको छ ।

त्यस्तै, दर्ता प्रक्रिया रोकिँदा विद्यार्थी, चिकित्सक वा संस्थालाई पर्न जाने असुविधा तथा क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित प्रतिष्ठान तथा मेडिकल–डेन्टल कलेज स्वयंले वहन गर्नुपर्ने पनि काउन्सिलले जनाएको छ ।

Share News