काठमाडौं । मुक्तिनाथ विकास बैंकले देशका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत १ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री तथा अध्ययन सहयोग उपलब्ध गराएको छ ।
बैंकले आर्थिक रूपमा विपन्न तथा शैक्षिक सामग्रीको अभावमा रहेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालय पोसाक, स्कुल ब्याग, स्टेशनरी सामग्री, खेलकुद सामग्री तथा एक शैक्षिक वर्षको अध्ययन खर्चसमेत सहयोग गरेको जनाएको छ ।
कार्यक्रमअन्तर्गत मोरङ, महोत्तरी, अर्घाखाँची, डडेलधुरा, रुपन्देही, उदयपुर, झापा, नवलपरासी, सर्लाही र कञ्चनपुरका सामुदायिक विद्यालयका विद्यार्थीलाई विभिन्न प्रकारका शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ । साथै, सामाजिक संस्था ‘अस्तित्व नेपाल’सँगको सहकार्यमा आगलागीबाट प्रभावित (बर्न सर्भाइभर) तथा आर्थिक रूपमा कमजोर ६ जना बालबालिकाको एक वर्षको अध्ययन खर्च पनि बैंकले व्यहोरेको छ ।
यसका अतिरिक्त सुर्खेत, रुपन्देही र महोत्तरीका विद्यालयलाई डिजिटल स्मार्ट बोर्ड, सिलिङ फ्यान तथा खेलकुद सामग्रीसमेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार उक्त सहयोगले आर्थिक अभावका कारण पठनपाठनमा समस्या भोगिरहेका विद्यार्थीको अध्ययनलाई सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । शिक्षा सामाजिक तथा आर्थिक रूपान्तरणको आधार भएकाले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बैंकले जनाएको छ ।