रुपन्देही अदालत : चार हजार १०९ मुद्दा फछ्र्यौट

सिद्धार्थनगर । जिल्ला अदालत रुपन्देहीले यस वर्ष सात हजार ६४२ मुद्दामध्ये चार हजार १०९ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ । चालु आव २०८२/८३ को असार १७ गतेसम्मको विवरणअनुसार सो अदालतमा अब तीन हजार ५३३ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ ।

जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेतले गत आवबाट जिम्मेवारी सरी आएका तीन हजार २४० र चालु आवमा दर्ता भएका चार हजार ४०२ समेत गरी सात हजार ६४२ मुद्दा रहेकामा चार हजार १०९ फछर्योट भई तीन हजार ५३३ मुद्दाको निर्णय हुन बाँकी रहेको जानकारी दिए।

प्रमुख न्यायाधीश बस्नेतले बढ्दो मुद्दाको चापका बाबजुद स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै छिटो, छरितो, जवाफदेही, पारदर्शी  एवं प्रभावकारी ढङ्गबाट न्यायसम्पादन गरेको बताउनुभयो । यसैगरी, वरिष्ठ जिल्ला न्यायाधीश धनिश्वर पौडेलले संस्थागत सुधारका कार्यक्रमसहित न्यायसम्पादनलाई थप प्रभावकारी, सेवामुखी र विश्वसनीय बनाउन अदालत क्रियाशील रहेको स्पष्ट गरे ।

अदालतका स्रेस्तेदार विमल रेग्मीका अनुसार सूचना प्रविधिमा आधारित रहेर न्यायसम्पादन प्रक्रियासँग सम्बन्धित कामकारबाहीलाई अभिलेखीकरण तथा सरलीकरण गर्दै अझ चुस्तदुरुस्त र प्रभावकारी बनाई वार्षिक लक्ष्य हासिल गर्न एकीकृत प्रयास गरिएको छ ।
 

Share News