काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बोर्डले हालसम्म सेवा प्रदायक संस्थाहरूको २०८२ मंसिर मसान्तसम्मको सम्पूर्ण दाबी भुक्तानी गरिसकेको जानकारी दिएको छ ।
बोर्डले बीमा कार्यक्रमको सीमित स्रोतसाधन र संरचनागत चुनौतीका बाबजुद पनि दैनिक हजारौं बीमित नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको दाबी गरेको छ । उपचारका क्रममा नागरिकले आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने खर्च कम गरी वित्तीय जोखिमबाट संरक्षण प्रदान गर्न स्वास्थ्य बीमा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याइरहेको बोर्डको भनाइ छ ।
यद्यपि स्वास्थ्य बीमा कार्यक्रमका लागि आवश्यक दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न कठिनाइ हुने अवस्था सिर्जना भएको बोर्डले स्वीकार गरेको छ । यसले कतिपय अवस्थामा सेवा प्रवाहमा असहज परिस्थिति उत्पन्न भएको विषयमा आफू पूर्ण रूपमा जानकार रहेको पनि बोर्डले जनाएको छ ।
बोर्डका अनुसार २०८२ मंसिरपछिको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग समन्वय र पहल निरन्तर भइरहेको छ ।
यसैबीच बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचारमा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत तोकिएको मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ ।
बोर्डले जारी गरेको विज्ञाप्तिमा भनिएको छ,‘ बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन अनुरोध छ ।’