यमनको हुदैदाह बन्दरगाह नजिक मालवाहक जहाजमाथि आक्रमण

यमनको हुदैदाह बन्दरगाह । फाइल तस्बिर ।

काठमाडौं । यमनको हुदैदाह बन्दरगाह नजिक एक मालवाहक जहाजमाथि आक्रमण भएको सूचना प्राप्त भएको बेलायतको यूके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले जनाएको छ ।

बेलायती नौसेनासँग आबद्ध उक्त संस्थाका अनुसार हुदैदाह बन्दरगाहबाट करिब ३० समुद्री माइल दक्षिण–पश्चिममा रहेको एक मालवाहक जहाजले आपत्कालीन सन्देश पठाउँदै आफू अज्ञात आक्रमणकारीको निशानामा परेको जानकारी दिएको हो ।

संस्थाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । साथै उक्त क्षेत्रमा आवतजावत गर्ने जहाजहरूलाई उच्च सतर्कता अपनाउन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ ।

यता अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त यमन सरकारले हुदैदाह बन्दरगाहको दक्षिण क्षेत्रमा हुथी विद्रोहीको आक्रमणमा आफ्ना १४ सैनिक मारिएको जनाएको छ ।

यमनी सरकारसँग आबद्ध एक सैन्य अधिकारीले एएफपीसँग कुरा गर्दै शनिबार हुदैदाहको दक्षिणस्थित हाइस क्षेत्रमा हुथी विद्रोहीहरूले गरेको आक्रमणलाई सरकारी सेनाले धेरै घण्टासम्म चलेको भीषण भिडन्तपछि विफल पारेको बताए ।

उनका अनुसार भिडन्तमा धेरै हुथी लडाकु पनि मारिएका वा घाइते भएका छन् । यद्यपि, उनीहरूको यकिन संख्या सार्वजनिक गरिएको छैन ।

यो भिडन्त इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियामाथि आक्रमण गर्ने चेतावनी दिएको एक दिनपछि भएको हो ।

हुथी विद्रोहीहरूले साउदी अरेबियाले यमनमा एक इरानी विमान अवतरण हुन नदिन प्रयास गरेको आरोप लगाएका छन् ।

साउदी अरेबिया यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको प्रमुख समर्थक हो । यता यमन सरकारले भने इरानमाथि आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको छ ।

Share News