मेलम्चीको पानी बन्द भएपनि वैकल्पिक स्रोतबाट खानेपानी वितरण गरिने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले मनसुनका कारण पानी पथान्तरण कार्य बन्द गरेपछि काठमाडौं उपत्यकामा वैकल्पिक स्रोतबाट खानेपानी वितरणको प्रयास भइरहेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष मनसुन सक्रिय भई निरन्तर वर्षा भइरहेका कारण सम्भावित क्षति न्यूनीकरण गर्न मेलम्ची खानेपानी विकास समितिले असार १९ गतेदेखि पानी पथान्तरण बन्द गरेको जनाएको हो ।

केयूकेएलका अनुसार मेलम्चीको पानी आपूर्ति बन्द भएपछि उपत्यकाका उपभोक्तालाई विभिन्न वैकल्पिक स्रोतबाट पानी संकलन गरी वितरण गर्ने काम भइरहेको छ । वर्षाका कारण खानेपानी सेवा थप प्रभावित नहोस् भन्ने उद्देश्यले मौजुदा स्रोतको अधिकतम उपयोग गर्दै वितरण तालिका व्यवस्थित गर्न सबै शाखा कार्यालयलाई निर्देशन दिएको कम्पनीले जनाएको छ ।

कम्पनीले यस विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन उपभोक्तासँग आग्रह गरेको छ । साथै, मेलम्ची पानी पथान्तरण कार्य सहज भएपछि उपलब्धताको आधारमा पुनः वितरण गरिने केयूकेएलले जनाएको छ । 

Share News