उखु किसानलाई २ अर्ब भुक्तानी, २० करोड अनुदान पनि सिफारिस

काठमाडौं । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब २ अर्ब रुपैयाँ किसानले भुक्तानी पाएका छन् । जिल्लाका गौशाला नगरपालिका-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज र गौशाला-१२ स्थित सिद्विविनायक सुगर एण्ड केमिकल इन्डस्ट्रिजमा बुझाइएको उखुको रकम बापत १ अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ रुपैयाँ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८२­/८३ को हालसम्म दुवै उद्योगमा किसानले २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलो उखु बुझाइएको अभिलेख छ । जम्मा उखुको मूल्य बापत हुने १ अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ रुपैयाँमध्ये १ अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ रुपैयाँ भुक्तानी भइसकेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए ।

यसैगरी, सरकारले उखु किसानलाई दिने अनुदान बापतको रकम भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीलाई सिफारिस गरिएको छ । जिल्ला भुक्तानी समितिले अहिले २० करोड ७ लाख ५९ हजार ११७ रुपैयाँ अनुदान भुक्तानीका लागि सिफारिस गरेको यादवले स्पष्ट पारे । 

जिल्लामा भुक्तानी सिफारिसका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भुक्तानी समितिको व्यवस्था छ । यसपालीको उखु बापतको मूल्य र अनुदान सबै भुक्तानी यसै असार मसान्तभित्र भइसक्ने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

Share News