काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को रोमाञ्चक भिडन्तमा बेल्जियमले घरेलु टोली अमेरिकामाथि ४–१ को प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
सियाटल स्टेडियममा आज बिहान सम्पन्न खेलमा बेल्जियमका चार फरक समयमा आएका गोलले अमेरिकाको यात्रा अन्त्य गरिदियो ।
खेलको नवौं मिनेटमै चाल्र्स डी केटेलाएरले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि अमेरिकाका मलिक टिलम्यानले ३१औं मिनेटमा बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्याए ।
तर अमेरिकाको खुसी धेरैबेर टिकेन । केटेलाएरले ३३औं मिनेटमै व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए ।
दोस्रो हाफको ५७औं मिनेटमा हान्स भानाकेनले गोल थपेपछि बेल्जियम ३–१ ले अघि बढ्यो । इन्जुरी समयमा रोमेलु लुकाकुले अर्को गोल गर्दै बेल्जियमको शानदार ४–१ को जित पक्का गरे ।
बेल्जियमले खेलभर आक्रामक प्रदर्शन गर्दै अवसरहरूलाई राम्रोसँग सदुपयोग गर्यो भने अमेरिका निर्णायक क्षणमा रक्षात्मक कमजोरीको सिकार बन्यो । चाल्र्स डी केटेलाएर दुई गोलसहित खेलका उत्कृष्ट खेलाडी बने ।
यस जितसँगै बेल्जियम विश्वकप २०२६ को अन्तिम आठ (क्वार्टरफाइनल) मा प्रवेश गरेको छ भने सहआयोजक अमेरिका भने नकआउट चरणबाटै बाहिरिएको छ ।