काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीको देवचुली नगरपालिका–१५ स्थित श्री जन ज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतीक्षा स्थल निर्माणका लागि सहयोग गर्नुका साथै विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालयको शिक्षक–अभिभावक संघका अध्यक्ष पदमराज भट्टराईलाई वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० थान कुर्सी तथा विद्यालयलाई आवश्यक सेतो पाटी हस्तान्तरण गरेका हुन् ।
बैंकले विद्यालयमा आउने अभिभावक, सेवाग्राही तथा स्थानीय समुदायका व्यक्तिका लागि व्यवस्थित, सम्मानजनक र सहज प्रतीक्षास्थल निर्माणमा समेत सहयोग गरेको जनाएको छ ।
शिक्षक–अभिभावक संघका अध्यक्ष भट्टराईले बैंकप्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोगले विद्यालयमा आउने अभिभावक, विद्यार्थी, शिक्षक तथा सेवाग्राहीका लागि थप सहज र व्यवस्थित वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
कामना सेवा विकास बैंकले आगामी दिनमा पनि स्थानीय समुदायसँग समन्वय र सहकार्य गर्दै शिक्षा, सामाजिक विकास तथा सामुदायिक हितका यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।