घरजग्गा कारोबारबाट सरकारको खातामा ६१.६५ अर्ब, कर बढ्नुअघि किनबेच ह्वात्तै बढ्यो

काठमाडौं । घरजग्गा कारोबारबाट गत आर्थिक वर्ष २०८२/८३ मा ६१ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व सङ्कलन असार महिनामा भएको छ । असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने भएपछि असारमा कारोबार वृद्धि भएको घरजग्गा व्यवसायीहरू बताउँछन् । 

विभागको तथ्याङ्कअनुसार गत वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यो उक्त आवको दोस्रो धेरै राजस्व सङ्कलन हो । 

विभागका अनुसार २०८२ साउनमा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । भदौमा केही घटेर ३ अर्ब १४ करोड सात लाख १६ हजार ३३५ रुपैयाँ मात्रै प्राप्त भएको थियो । 

यस्तै, असोज र कात्तिकमा भने न्यून मात्रामा राजस्व प्राप्त भएको थियो । असोजमा २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ र कात्तिकमा २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ रुपैयाँ सरकारको खातामा जम्मा भएको थियो ।

गत मङ्सिरमा ४ अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२ रुपैयाँ, पुसमा ५ अर्ब १७ करोड ३२ लाख १४ हजार २२२ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । माघमा ५ अर्ब ९९ लाख २४ हजार ५३६ रुपैयाँ र फागुनमा ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रुपैयाँ घरजग्गा कारोबारबाट प्राप्त भएको थियो । 

त्यसैगरी, गत चैतमा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ रुपैयाँ, वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ र जेठमा ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ सरकारको खातामा जम्मा भएको थियो ।

Share News