६ रोपनीमा ८ तले प्रशासनिक भवन बनाउँदै महानगर, ९४ दिनमै ३५ प्रतिशत प्रगति

काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सम्पन्न भएको छ । टेकुमा निर्माणाधीन उक्त भवनको निर्माण सुरु भएको ९४ दिनमै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति हासिल भएको भवन निर्माण परियोजनाका परियोजना निर्देशक महेश भट्टले जानकारी दिए ।

उनका अनुसार गत चैत २२ गतेदेखि निर्माण सुरु गरिएको भवनको बेसमेन्ट निर्माण सम्पन्न भइसकेको छ । अहिले बेसमेन्टको कभर स्ल्याब ढलानको तयारी भइरहेको छ ।

भट्टले संरचना निर्माणको काम तीव्र गतिमा अघि बढाइएकाले तोकिएको समयभन्दा अगावै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । निर्माण कम्पनीसँग २०८४ कात्तिक २२ गतेभित्र भवन निर्माण सम्पन्न गरी महानगरलाई हस्तान्तरण गर्ने सम्झौता भएको उनले जानकारी दिए ।

हाल निर्माणस्थलमा ७० जना कामदार परिचालन गरिएको छ । साथै परियोजना प्रबन्धक, साइट सुपरभाइजर लगायत १० जना प्राविधिक जनशक्ति खटिएको उनले बताए । निर्माणस्थलमा आवश्यक सबै सुरक्षा मापदण्ड र सुरक्षा प्रोटोकल पालना गर्दै काम भइरहेको उनको भनाइ छ ।

करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा ८ तले प्रशासनिक भवन निर्माण भइरहेको छ। निर्माणाधीन भवनको बुधबार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थलगत अनुगमन गरेकी छन् । अनुगमनका क्रममा उनले निर्माण कम्पनीलाई निर्धारित समयमै भवन निर्माण सम्पन्न गर्न निर्देशन दिएकी छन् ।

Share News