११ जनाले तिरेनन् नगरपालिकाको ऋण, ३५ दिने अल्टिमेटम

काठमाडौं । वीरेन्द्रनगर नगरपालिकाले ऋण चुक्ता गर्न ताकेता गरेको छ । महिला स्वरोजगार कार्यक्रम अन्तर्गत सहुलियतपूर्ण ऋणमा अटो प्राप्त गरे पनि ११ जनाले रकम चुक्ता नगरेपछि ऋण तिर्न नगरपालिकाले ताकेता गरेको हो । 

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा वितरण गरिएको सहुलियतपूर्ण ऋण सम्झौताअनुसार पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि लाभग्राहीहरूले रकम नतिरेपछि सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।

लाभग्राहीहरूले ३५ दिनभित्र नगरपालिकामा सम्पर्क गरी बाँकी ऋण रकम बुझाउनुपर्नेछ । अन्यथा ऋण सम्झौता तथा प्रचलित कानुनबमोजिम असुलउपर, कानुनी कारबाही र अन्य आवश्यक प्रक्रिया अघि बढाइने नगरपालिकाले चेतावनी दिएको छ ।

सार्वजनिक गरिएको सूचीमा वीरेन्द्रनगरका विभिन्न वडाका ११ जना लाभग्राही रहेका छन् । उनीहरूले फिर्ता गर्न बाँकी रकम १८ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म रहेको उल्लेख गरिएको छ ।

नगरपालिकाका अनुसार मञ्जु सुनार, निर्मला सेढाई, सिता बिक, यामकुमारी सार्कीले समान १ लाख रुपैयाँ १ लाख रुपैयाँ फिर्ता गर्नुपर्नेछ ।

यस्तै, कौशिला नेपालीले ६९ हजार ८१६ रुपैयाँ, शुष्मिता बिकले ६५ हजार ८७९ रुपैयाँ, सिर्जना गुरुङले ३८ हजार ५३२ रुपैयाँ, सबिना पुनले ५५ हजार १७८ रुपैयाँ, कल्पना सिंहले ६७ हजार ६४३ रुपैयाँ, यसुदा सापकोटाले ८१ हजार ७४८ रुपैयाँ र धनकुमारी सिजापतीले १८ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । 

Share News