काठमाडौं । नेपालका ऐतिहासिक तथा कलात्मक सम्पदाहरूको पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीले विशेष चासो देखाएका छन् ।
सम्पदा निर्माणका क्रममा मौलिक कला खस्किएको भन्दै सरोकारवालाले राखेको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीले नेपाल हस्तकला महासंघ र नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग संयुक्त छलफल गरेका हुन् ।
नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यका अनुसार यसअघि प्रधानमन्त्रीसँगको भेटमा महासंघले पुनर्निर्माणका कार्यहरूमा नेपालको मौलिकपन र उच्च गुणस्तर कायम हुन नसकेको विषयमा ध्यानाकर्षण गराएको थियो ।
हस्तकला महासंघ एक गैर–नाफामूलक संस्था भएकाले सरकारी ठेक्का प्रक्रियामा प्रत्यक्ष सहभागी हुन नसक्ने प्राविधिक कठिनाइ रहेको जानकारी गराउँदै महासंघले निर्माण व्यवसायीहरूसँगको समन्वयमा काम गर्नसके यसले सकारात्मक नतिजा दिने प्रस्ताव राखेको थियो ।
हस्तकला महासंघको उक्त प्रस्ताव र गुनासोप्रति प्रधानमन्त्रीले तत्कालै सक्रियता देखाएका हुन् ।
गुनासो राखेको दुई दिनभित्रै प्रधानमन्त्रीले निर्माण व्यवसायी महासंघ र हस्तकला महासंघका पदाधिकारीहरूलाई संयुक्त रूपमा बैठकमा बोलाएर समन्वयात्मक ढंगले अगाडि बढ्न निर्देशन दिएका हुन् ।
अध्यक्ष शाक्यले प्रधानमन्त्रीको यस शीघ्र कदमले व्यवसायीहरूमा नयाँ उत्साह र सकारात्मक ऊर्जा थपेको बताए।
अबका दिनमा दुवै महासंघबीच प्रभावकारी समन्वय भएमा पुराना संरचनाहरूको पुनर्निर्माणमा उच्च गुणस्तर कायम हुने र नेपालको मौलिक कला–संस्कृतिको संरक्षणमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
यो सहकार्यले सरकारी ठेक्कापट्टाको प्रक्रियागत जटिलतालाई हल गर्दै निर्माण व्यवसायीको अनुभव र हस्तकलाकर्मीको सीपलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको अध्यक्ष शाक्यले जानकारी दिए ।
मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयारः निर्यात व्यवसायी महासंघ
निर्यात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष देवानन्द सरावगीले मुलुकमा आर्थिक क्रान्तिको समय आएको बताउँदै निजी क्षेत्र ठूलो लगानीका लागि तयार रहेको बताएका छन् ।
बैंकहरूमा पर्याप्त तरलता रहेको वर्तमान अवस्थामा उद्यमीहरूले उत्साहका साथ लगानी बढाउनुपर्ने र यसले रोजगारी सिर्जना तथा राजस्व वृद्धिमा प्रत्यक्ष योगदान पुग्ने उनको भनाइ छ ।
प्रधानमन्त्रीसँग सरकारले लक्ष्य राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर (जीडीपी) हासिल गर्न निजी क्षेत्रको लगानी अपरिहार्य रहेको र यसका लागि व्यवसायीहरूले आफूलाई तयार गरिरहेको उनले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयको फेरिएको कार्यशैली र सक्रियताप्रति सकारात्मक संकेत गर्दै उपाध्यक्ष सरावगीले विगतमा प्रधानमन्त्री कार्यालयसँग समन्वय गर्न कठिन रहेको र सम्पर्क भएपनि समय नपाइने र समय पाइहाले पनि निर्णयहरू कार्यान्वयन नहुने अवस्था रहेको उनले बताए ।
तर अहिले प्रधानमन्त्री स्वयंले व्यवसायीका कुरा सुन्ने, प्रतिप्रश्न गर्ने र समस्या समाधानका लागि तत्काल कदम चाल्ने गरेको बताए ।
प्रधानमन्त्रीको सक्रियता र निजी क्षेत्रका समस्याप्रति देखाएको चासोले उद्यमीहरूमा नयाँ उत्साह थपेको महासंघले जनाएको छ ।
कृषि र निर्यातजन्य क्षेत्रका समस्याहरू समाधान गर्न सरकार सकारात्मक देखिएको र व्यवसायीहरूले आफ्ना साझा समस्याहरू सरकारसमक्ष राखेको सरावगीले बताए ।
छुटेका निर्यातजन्य क्षेत्रहरूलाई समेत समेटेर आगामी दिनमा सरकारसँग थप छलफल गरिने र सरकारको हालको कार्यशैलीले आर्थिक सुधारमा महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास महासंघले व्यक्त गरेको छ ।