हिंसा र मुठभेडबाट समस्या समाधान हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी जिल्लामा हालै भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कुनै पनि समस्या, असहमति वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने बताएका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले यस्तो बताएका हुन्।

उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । 

साथै घाइते भएका सबै नागरिक तथा सुरक्षाकर्मीको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

लामिछानेले नेपाली समाजको सबैभन्दा ठूलो शक्ति बहुलवाद, सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकता रहेको उल्लेख गर्दै त्यसलाई कमजोर बनाउने, साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्याउने कुनै पनि गतिविधिमा नलाग्न सबैलाई आग्रह गरेका छन् । 

उनले उक्साहट र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन अहिलेको प्रमुख आवश्यकता रहेको पनि बताएका छन् ।

उनले सरकारले तत्काल शान्ति–सुरक्षा कायम गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र तनावग्रस्त अवस्थालाई सामान्य बनाउन प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । 

साथै घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा पीडित पक्षलाई न्याय, राहत, क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।

लामिछानेले रास्वपा शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा सधैं अडिग रहेको उल्लेख गर्दै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीले सकारात्मक भूमिका निर्वाह गर्ने पनि बताएका छन् ।

उनले यस्तो संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बन्धित पक्षलाई आग्रह गर्दै रास्वपाका स्थानीय समिति र कार्यकर्तालाई शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिएका छन् ।

Share News