काठमाडौं । सुनसरीमा भएको पछिल्लो घटनापछि उत्पन्न अवस्था, शान्तिसुरक्षा र सामाजिक सद्भावका विषयमा छलफल गर्न कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार बैठक बुधबार दिउँसो १२ः३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्नेछ ।
बैठकमा सुनसरी जिल्लाका प्रदेशसभा सदस्य तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
प्रदेश सरकारले सुनसरी घटनापछि विकसित परिस्थितिबारे साझा धारणा बनाउन, शान्तिसुरक्षाको अवस्था सुदृढ गर्न तथा सामाजिक सद्भाव कायम राख्ने उपायबारे छलफल गर्ने जनाएको छ । साथै, प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी बनाउँदै नागरिकमा विश्वास अभिवृद्धि गर्ने विषयमा समेत बैठकमा आवश्यक निर्णय र रणनीति तय गरिने तयारी रहेको प्रदेश सरकारको भनाइ छ ।
सुनसरीमा भएको घटनापछि प्रदेश सरकारको पहलमा पहिलो पटक सर्वदलीय तहमा छलफल हुन लागेको हो ।