काठमाडौं । सुनसरीसहित विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित हिंसात्मक तथा संवेदनशील घटनाक्रमपछि प्रमुख राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारलाई संयुक्त रूपमा आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सातबुँदे संयुक्त वक्तव्य जारी गर्दै देशभर शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन सबै पक्षलाई संयम अपनाउन अपिल गरेको हो ।
बैठकले पछिल्ला घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
संयुक्त वक्तव्यमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्वलाई कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधिबाट प्रभावित हुन नदिन आम नागरिकलाई आग्रह गरिएको छ । आवेग, हिंसा र मुठभेडले समस्या समाधान नगरी थप जटिलता निम्त्याउने भएकाले सबै पक्ष संयमित हुनुपर्ने बैठकको निष्कर्ष छ ।
दलहरूले लोकतान्त्रिक प्रणालीमा कुनै पनि असन्तुष्टि वा विवादको समाधान संवाद र सहमतिबाट मात्र सम्भव हुने उल्लेख गर्दै आफ्ना माग शान्तिपूर्ण रूपमा प्रस्तुत गर्न सम्बन्धित पक्षलाई आह्वान गरेका छन् ।
सामाजिक सद्भाव कायम राख्न केन्द्रस्तरीय पहल मात्र पर्याप्त नहुने निष्कर्ष निकाल्दै बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न सम्बन्धित राजनीतिक दलका मातहतका समितिलाई निर्देशन दिएको छ ।
स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज तथा प्रशासनबीच समन्वय बढाएर विश्वासको वातावरण निर्माण गर्न पनि आग्रह गरिएको छ ।
बैठकले यस्ता प्रकृतिका घटना पुनः दोहोरिन नदिन राजनीतिक दलहरूले केन्द्रीय तहबाट निरन्तर समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति र अफवाहले परिस्थितिलाई थप जटिल बनाउन सक्ने भन्दै दलहरूले आम नागरिकलाई जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरेका छन् । सञ्चारमाध्यमलाई पनि तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न अपिल गरिएको छ ।
संयुक्त वक्तव्यमार्फत सर्वदलीय बैठकले नेपाल सरकारको समेत गम्भीर ध्यानाकर्षण गराउँदै नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न अधिकतम संयमता अपनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।
बैठकले अन्त्यमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिँदै उत्पन्न संकटको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

