काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललले कालीकोटको पलाँता अस्पतालभित्र पसेर स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।
नागरिकको ज्यान बचाउनेहरूको आफ्नै ज्यान जोखिममा पर्दा सरकारले शान्ति सुरक्षाको व्यवस्थापनमा थप गम्भीरता र संवेदनशीलता देखाउन सम्पूर्ण स्वास्थ्यकर्मीलाई भयरहित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्न माग गरेका छन् ।
'एकातिर दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउनै मुस्किल छ, अर्कोतिर ज्यान हत्केलामा राखेर दूरदराजमा नागरिक सेवामा खटिएका चिकित्सक तथा नर्स लगायतका स्वास्थ्यकर्मीहरू आफ्नै कार्यस्थलमा असुरक्षित हुनु अत्यन्तै दुखद र चिन्ताजनक छ,' उनले भनेका छन् ।
शुक्रबार पलाँता अस्पतालका स्वास्थ्यकर्मीमाथि केही व्यक्तिहरूले दुर्व्यवहार गरेका थिए । दुर्व्यवहार तथा अस्पतालको सामग्री तोडफोड गर्ने तीन जना पक्राउ पनि परिसकेका छन् ।