काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सांसद मनिष झाले प्रधानमन्त्री बालेनको भनाइलाई लक्षित गर्दै यहाँ कोही एक्लो नभएको भन्दै कटाक्ष गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही पनि एक्लो नभएको बताएका हुन् ।
'हामी सबै साथमा छौँ । हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्,’ झाले भनेका छन्, 'यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ।'
जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र सकारको साथमा रहेकाले यहाँ कोही पनि एकलो नरहेको उनले बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार अबेर राति सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।
शुक्रबार राति ११ बजेर ६ मिनेटमा उनले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताएका हुन् ।
आम नागरिकलाई नआत्तिन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने गुनासो गरेका छन् । 'केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ’, उनले लेखेका छन्, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलोचोटि होइन ।'