काठमाडौं । अमेरिकाको एक अदालतले अडानी समूहका अध्यक्ष गौतम अडानी र उनका भतिजा सागर अडानीविरुद्ध ठगी तथा घुसखोरीसँग सम्बन्धित आपराधिक आरोप स्थायी रूपमा खारेज गरेको छ ।
यससँगै दुई वर्षदेखि चलिरहेको आपराधिक कानुनी प्रक्रिया पनि अन्त्य भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार अमेरिकाको न्युयोर्कस्थित इस्टर्न डिस्ट्रिक्टको जिल्ला अदालतले न्याय विभागले दायर गरेको मुद्दा खारेज गर्न माग गर्दै दिएको निवेदन स्वीकृत गरेको हो ।
अदालतले गौतम अडानी, सागर अडानी र अडानी ग्रिन इनर्जी लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत विनीत जैनविरुद्ध लगाइएका आरोप खारेज गरेको छ ।
उनीहरूमाथि सेक्युरिटिज ठगीको षड्यन्त्र, वायर ठगीको षड्यन्त्र तथा सेक्युरिटिज ठगीलगायतका आरोप लगाइएको थियो ।
अदालतको यो फैसला ‘डिसमिसल विथ प्रिजुडिस’ अर्थात् स्थायी रूपमा मुद्दा खारेज गर्ने आधारमा आएको हो ।
यसको अर्थ यी आपराधिक आरोपमा पुनः मुद्दा दायर गर्न पाइने छैन र आपराधिक कानुनी प्रक्रिया स्थायी रूपमा अन्त्य भएको छ ।
गौतम अडानीले अदालतको फैसलाको स्वागत गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘म ती सबैप्रति हृदयदेखि आभार व्यक्त गर्दछु, जसले हामीमाथि, व्यवस्थामाथि र भारतको न्याय दिने क्षमतामाथि कहिल्यै विश्वास गुमाएनन् ।’
यो मुद्दा सन् २०२४ को नोभेम्बरमा सार्वजनिक भएको थियो ।
अमेरिकी अभियोजकहरूले गौतम अडानी, सागर अडानी, अडानी ग्रिन इनर्जीका तत्कालीन सीईओ विनीत जैन तथा अन्य व्यक्तिहरू भारतीय सरकारी अधिकारीहरूलाई करिब २५ करोड अमेरिकी डलर घुस दिने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाएका थिए ।