काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डीआर कंगोमा इबोलाका बढ्दो घटनालाई लिएर चिन्ता व्यक्त गरेको छ ।
डब्ल्यूएचओका अनुसार स्वास्थ्य अधिकारीहरू अझै पनि भाइरस नियन्त्रण गर्ने प्रयासमा छन् ।
तर संक्रमण फैलिने गति उनीहरूको प्रयासभन्दा तीव्र रहेको छ ।
देशमा इबोलाको पछिल्लो प्रकोप आधिकारिक रूपमा घोषणा हुनुभन्दा करिब तीन महिनाअघि नै फैलिन थालेको थियो ।
डीआर कंगोमा मे १५ मा इबोला प्रकोपको आधिकारिक घोषणा गरिएको थियो । तर त्यसको करिब तीन महिनाअघिदेखि नै संक्रमण फैलिन थालेको थियो ।
त्यसयता हालसम्म १ हजार ९६० जनाको मृत्यु भइसकेको छ भने ४ हजार २९४ जनामा संक्रमण पुष्टि भएको छ ।
डब्ल्यूएचओका अफ्रिका निर्देशक डा. मोहम्मद जनाबीले भने, ‘हामी भाइरसको पछाडि दौडिरहेका छौं जबकि भाइरस हामीभन्दा अगाडि छ ।’
उनका अनुसार एउटा अध्ययनले भाइरसको फैलावट फेब्रुअरीमै सुरु भएको देखाएको छ । सुरुवातमा धेरै बिरामीलाई मलेरिया वा टाइफाइड भएको ठानिएकाले इबोला पहिचान गर्न ढिलाइ भएको थियो ।
डब्ल्यूएचओका अनुसार स्वास्थ्यकर्मीहरू करिब ३० प्रतिशत बिरामीसम्म मात्र पुग्न सकिरहेका छन्। बाँकी बिरामीको घरमै मृत्यु भइरहेको छ ।
केही क्षेत्रमा अन्त्येष्टिका परम्परागत प्रचलनले पनि संक्रमण फैलिने जोखिम बढाइरहेको छ । कतिपय स्थानमा अन्त्येष्टिका क्रममा मानिसहरूले मृत व्यक्तिको शव छुने गर्छन् ।
त्यसैगरी, केही समुदायमा स्वास्थ्य अधिकारीहरूमाथि विश्वासको कमीका कारण पनि रोग नियन्त्रण गर्न कठिनाइ भइरहेको डब्ल्यूएचओले जनाएको छ ।