काठमाडौं । इरान र अमेरिकाबीच खाडी क्षेत्रमा जारी युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने विषयमा सहमति जुटाउने प्रयासमा अझै पनि मतभेद कायम रहेको एक वरिष्ठ इरानी स्रोतले जनाएको छ ।
उनका अनुसार जुनमा भएको अन्तरिम सम्झौतालाई पुनर्जीवित गर्ने र त्यसका प्रतिबद्धता कार्यान्वयन गर्ने समयसीमा तय गर्ने विषयमा भइरहेको वार्तामा कुनै प्रगति भएको छैन ।
यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेताविरुद्ध पुनः कडा टिप्पणी गरेको समयमा आएको हो ।
मंगलबार यस क्षेत्रमा पानीजहाजमाथि नयाँ आक्रमण भएका थिए, जसले संकट समाधानको आशामाथि थप धक्का पुगेको छ ।
जुनमा भएको सम्झौताले सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेको थियो । तर सम्झौता चाँडै नै संकटमा परेको थियो ।
ट्रम्पले जुलाई ७ मा सम्झौता ‘समाप्त भइसकेको’ बताएका थिए भने त्यसको एक सातापछि इरानको विदेश मन्त्रालयले सम्झौता ‘स्थगित’ भएको घोषणा गरेको थियो ।
अमेरिकाले सम्झौताअनुसार इरानले महत्त्वपूर्ण सामुद्रिक मार्ग होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै आएको छ । तर तेहरानले अमेरिकाले पनि आफ्ना प्रतिबद्धता पूरा नगरेको बताएको छ
इरानका अनुसार अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने प्रतिबद्धता पूरा गरेको छैन ।
इरानी स्रोतले रोयटर्ससँग भनेको छ, ‘मध्यस्थमार्फत छलफल भइरहेको विषयमध्ये एउटा अमेरिका अन्तरिम सम्झौतामा फर्किने र प्रतिबद्धता कार्यान्वयनका लागि समयसीमा तय गर्ने विषय हो। यस विषयमा बिल्कुलै प्रगति भएको छैन ।’
ट्रम्पले बुधबार अमेरिकाले होर्मुज जलडमरूमध्यमा ‘पूर्ण नियन्त्रण’ कायम गरेको दाबी गरेका छन् । तर इरानले जलमार्ग व्यवस्थापनका लागि स्थापना गरेको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले भने जलमार्ग अझै अवरुद्ध रहेको र इरानका सर्त स्वीकार नभएसम्म पुनः नखोलिने जनाएको छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा इरानलाई लक्षित गर्दै ‘इरान कुरा मात्रै गर्छ, काम गर्दैन’ भन्दै मध्यपूर्वको ‘दादागिरी’ अब नरहेको टिप्पणी गरेका छन्।
यस द्वन्द्वका क्रममा ट्रम्पले कहिले युद्ध थप चर्किने चेतावनी दिँदै आएका छन् भने कहिले शान्ति सम्झौता नजिकै पुगेको दाबी गर्दै आएका छन् ।
६० दिनको समयसीमा बढाउने विषयमा छलफल नै छैन
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि जारी द्वन्द्वमा मुख्यतः इरान र लेबनानमा हजारौं मानिसको मृत्यु भएको बताइएको छ ।
इरानले ओमान, जोर्डन, कुवेत, इजरायल, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियालगायत देशमा रहेका अमेरिकी सम्पत्ति तथा पूर्वाधारलाई समेत निशाना बनाएको छ ।
जुनमा भएको अन्तरिम युद्धविराम सम्झौतामा ६० दिनको समयसीमा तोकिएको थियो । आपसी सहमतिमा यो अवधि थप गर्न सकिने व्यवस्था थियो । यस अवधिभित्र इरानको आणविक कार्यक्रम सीमित गर्ने र अमेरिकाले लगाएका प्रतिबन्ध हटाउने विषयमा अन्तिम सम्झौता गर्ने अपेक्षा गरिएको थियो ।
तर इरानी स्रोतले बुधबार टर्कीको अनादोलु समाचार एजेन्सीले दिएको एउटा रिपोर्टलाई अस्वीकार गरेको छ । उक्त रिपोर्टमा पाकिस्तानी सरकारी स्रोतलाई उद्धृत गर्दै ६० दिनको अवधि थप गर्न सहमति भएको उल्लेख गरिएको थियो ।
इरानी स्रोतले रोयटर्ससँग भनेको छ, ‘समयसीमा थप गर्ने विषयमा कुनै छलफल भएको छैन, किनभने इरानको दृष्टिकोणमा सुरु भएको कुनै अवधि नै छैन, त्यसैले थप गर्ने प्रश्न पनि आउँदैन । अमेरिकाले अन्तरिम सम्झौता भएको ४८ घण्टामै त्यसको उल्लंघन गरेको थियो र केही दिनपछि सम्झौताबाट बाहिरिएको थियो ।’
हर्मुज जलडमरूमध्यमा तनाव
इरान र ओमानबीच तथा पर्सियन गल्फको प्रवेशद्वारमा रहेको साँघुरो हर्मुज जलडमरूमध्य युद्धअघि विश्वको कुल कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौं हिस्सा ओसारपसार हुने प्रमुख समुद्री मार्ग थियो ।
युद्ध सुरु भएयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२६ डलरसम्म पुगेको थियो, जुन युद्धअघिको स्तरभन्दा करिब ७५ प्रतिशत बढी हो । खाडी क्षेत्रबाट तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता र शान्तिवार्तासम्बन्धी बदलिँदो संकेतका कारण तेल बजारमा उतारचढाव जारी छ ।
मंगलबार छुट्टाछुट्टै घटनामा पानीजहाजमाथि आक्रमण भएको अमेरिकी सेनाले जनाएको छ । घटनापछि बुधबार तेलको मूल्य सुरुमा बढे पनि पछि केही स्थिर भएको थियो ।
सन् २०२६ मा विश्वव्यापी तेलको मागबारे गरिएको अनुमान घटाइएपछि पनि बजारमा उतारचढाव देखिएको छ । बुधबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ८८ डलर र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य करिब ८३ डलरको आसपास कारोबार भइरहेको थियो । (रोयटर्सबाट अनुदित तथा सम्पादित)
इरानी मिसाइल हमलाको डरले ट्रम्पले चुपचाप बदलेका थिए विमान