मधुमेहमा उपयोगी हुनसक्छ प्याज, यसरी गर्छ काम

काठमाडौं । पछिल्लो समय मधुमेह अर्थात् डायबिटिजको समस्या बढ्दै गएको छ । अस्वस्थ खानपान र बदलिँदो जीवनशैलीका कारण यसको जोखिम बढिरहेको चिकित्सकहरू बताउँछन् ।मधुमेह नियन्त्रणका लागि खानपान र जीवनशैलीमा सुधार गर्नु महत्त्वपूर्ण हुन्छ ।

मधुमेह भएका मानिसका लागि प्याज पनि उपयोगी खाद्य पदार्थका रूपमा लिइने विशेषज्ञहरू बताउँछन् । केही अध्ययनले प्याजमा पाइने विभिन्न पोषक तत्वले शरीरमा ग्लुकोजको मेटाबाेलिज्म र इन्सुलिनको कार्यक्षमतामा प्रभाव पार्न सक्ने देखाएका छन् ।

प्याजमा क्वेरसेटिन, सल्फरयुक्त यौगिक, क्रोमियम, आहारीय रेसा तथा प्रतिअक्सिडेन्ट जस्ता तत्व पाइन्छन् । यी तत्वले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोगी भूमिका खेल्न सक्ने अनुसन्धानले देखाएको छ । 

प्याजमा पाइने क्वेरसेटिनले शरीरका कोषिकाले ग्लुकोज ग्रहण गर्ने प्रक्रियालाई सहयोग गर्न सक्ने बताइएको छ । यसले उच्च रक्तचिनीको स्तर घटाउन भूमिका खेल्न सक्ने अध्ययनहरूमा उल्लेख छ ।

त्यस्तै, प्याजमा पाइने सल्फरयुक्त यौगिकले पनि रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग गर्न सक्ने देखिएको छ ।

क्रोमियमले शरीरमा इन्सुलिनप्रतिको संवेदनशीलता सुधार गर्न सहयोग गर्ने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रणमा यसको भूमिका हुन सक्ने बताइएको छ ।

प्याजमा पाइने रेसाले खानाबाट ग्लुकोज शरीरमा साेस्ने गति केही सुस्त बनाउन सक्छ । तर प्याजको रस निकाल्दा यसको अधिकांश रेसा कम हुने भएकाले प्याजलाई सिँगै वा खानासँगै प्रयोग गर्नु बढी उपयोगी हुन सक्ने विश्लेषकहरू बताउँछन् ।

त्यसैगरी, प्याजमा पाइने प्रतिअक्सिडेन्टले शरीरमा हुने सूजन कम गर्न र रक्तनलीलाई स्वस्थ राख्न सहयोग गर्न सक्छ । यसले मधुमेहसँग सम्बन्धित जटिलताको जोखिम कम गर्न भूमिका खेल्न सक्ने अध्ययनहरूले संकेत गरेका छन् । 

प्याज मधुमेह नियन्त्रण गर्ने कुनै चमत्कारी उपाय भने होइन । केवल प्याजको रस पिएर मधुमेह नियन्त्रण हुन्छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन ।

मधुमेह भएका व्यक्तिले चिकित्सकले सिफारिस गरेको औषधि नियमित सेवन गर्नुका साथै सन्तुलित आहार, नियमित व्यायाम, तौल नियन्त्रण, पर्याप्त निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

रगतमा चिनीको मात्रा नियमित जाँच गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । प्याजलाई मधुमेहको औषधिको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन ।

प्याजलाई सन्तुलित भोजनको हिस्सा बनाएर खान सकिन्छ । तर मधुमेहको उपचार गराइरहेका व्यक्तिले आफ्नो खानपानमा ठूलो परिवर्तन गर्नुअघि चिकित्सक वा पोषणविद्सँग परामर्श गर्नु उचित हुन्छ ।

यो सामग्री सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो । मधुमेहको उपचार वा औषधि परिवर्तनका लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।

Share News