मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लेमन ट्री र टेस्ला डाइग्नोस्टिक्समा २० प्रतिशत छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटल र बालुवाटारस्थित टेस्ला डाइग्नोस्टिक्ससँग व्यावसायिक सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउनेछन् ।

सम्झौतापछि बैंकका ग्राहकले लेमन ट्री प्रिमियर बूढानीलकण्ठ होटलमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । त्यस्तै, होटलको स्पामा २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

यसैगरी, टेस्ला डाइग्नोस्टिक्समा प्याथोलोजी परीक्षण, एमआरआई, एक्स–रे, दन्त ओपीजी, औषधिलगायत विभिन्न सेवामा ५ देखि १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।

छुट सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रयोग गर्नुपर्नेछ । मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा पनि छुट सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुसार सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकले हाल विशेष अटो लोन योजनासमेत आधार दरमा शून्य दशमलव ५० प्रतिशत प्रिमियममा उपलब्ध गराएको छ ।

बैंकका अनुसार विभिन्न क्षेत्रका व्यवसाय तथा संस्थासँग सहकार्य गरी ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले यस्ता सम्झौता गर्दै आएको छ ।

Share News