काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को वार्षिक साधारणसभा सुरु भएको छ ।
शुक्रबार काठमाडौंस्थित सोल्टी होटलमा नाट्टाको ५९औँ साधारणसभा सुरु भएको हो ।
प्रमुख अतिथिका रूपमा डोलप्रसाद अर्याल र विशिष्ट अतिथिका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल रहेका छन् ।
नाट्टाका वर्तमान अध्यक्ष कुमार थपलियाले पर्यटन क्षेत्रमा प्रशासनिक झन्झटका कारण काम गर्न कठिनाइ भइरहेको बताए। पर्यटनबाट मुलुकमा समृद्धि भित्र्याउन सकिने उनको भनाइ छ ।
उनले सरकारले सरोकारवाला निकायसँग समन्वय गर्नुपर्नेमा जोड दिए। पर्यटन क्षेत्र निजी क्षेत्रले सञ्चालन गरिरहेको उनले बताए ।
नाट्टाले आज आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । नाट्टाको २५औँ कार्यसमिति निर्वाचनमार्फत सन् २०२६ देखि २०२८ सम्मको कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ ।
निर्वाचन नजिकिँदै जाँदा अध्यक्ष पदका लागि तीन जना उम्मेदवारले आ–आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धा अघि बढाएका छन् ।
अध्यक्ष पदमा नाट्टाका वर्तमान वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठ, वर्तमान महासचिव युबिका भण्डारी र पर्यटन व्यवसायी भरतजंग पाण्डे प्रतिस्पर्धामा छन् ।
तीनै उम्मेदवारले छुट्टाछुट्टै समूह बनाएर चुनावी अभियान अघि बढाएका छन् ।
यसपटकको निर्वाचनमा पर्यटन व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने, व्यवसायीका समस्या समाधानका लागि संस्थागत पहल बढाउने, पर्यटन प्रवद्र्धन विस्तार गर्ने तथा नाट्टालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने विषय प्रमुख एजेन्डा बनेका छन् ।
यद्यपि तीनै समूहले संस्थाको नेतृत्वमा पुगेपछि अघि बढाउने प्राथमिकता र कार्यशैलीमा केही फरक एजेन्डा प्रस्तुत गरेका छन् ।
नाट्टाको निर्वाचनमा तीनै समूहले पर्यटन व्यवसायीका समस्या समाधान, पर्यटन प्रवद्र्धन र संस्थागत सुधारलाई प्राथमिकता दिएका छन् ।