जीवन बीमाको नाफा साढे ५ अर्ब, आइएमईको धेरै, राष्ट्रिय जीवन बीमा घाटामा

काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा कुल ५ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १०.५२ प्रतिशत अर्थात् ६४ करोड ८ लाख रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षमा १४ वटा जीवन बीमा कम्पनीले ६ अर्ब ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनी आइएमई लाइफ इन्स्योरेन्स बनेको छ । कम्पनीले ५८ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.१६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको खुद नाफा ५८ करोड ३३ लाख रुपैयाँ थियो ।

नाफा वृद्धिको आधारमा भने सिटिजन लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीको खुद नाफा १०६.६२ प्रतिशतले बढेर ३९ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, एलआईसी नेपालको नाफा २८.४५ प्रतिशतले बढेर ४० करोड ५७ लाख ७७ हजार रुपैयाँ पुगेको छ । सूर्यज्योति लाइफले ३८ करोड २ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.५४ प्रतिशतले बढी हो ।

रिलायबल नेपाल लाइफको नाफा २.१७ प्रतिशतले बढेर ५८ करोड २६ लाख २ हजार रुपैयाँ पुगेको छ भने सानिमा रिलायन्स लाइफको नाफा १.६८ प्रतिशतले वृद्धि भएर ३८ करोड ३८ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी, प्रभु महालक्ष्मी लाइफको नाफा १.३० प्रतिशतले बढेर ३७ करोड ५५ लाख ९३ हजार रुपैयाँ पुगेको छ भने एशियन लाइफको नाफा १.१८ प्रतिशतले वृद्धि भई ४१ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा पाँच वटा जीवन बीमा कम्पनीको नाफा घटेको छ भने एक कम्पनी घाटामा गएको छ । मेटलाइफ अमेरिकनको नाफा ५५.२८ प्रतिशतले घटेर ३७ करोड ९२ लाख ७८ हजार रुपैयाँमा सीमित भएको छ । हिमालयन लाइफको नाफा ४१.९० प्रतिशतले घटेर ३१ करोड ७७ लाख ७१ हजार रुपैयाँमा झरेको छ ।

यस्तै, सन नेपाल लाइफको नाफा २२.८३ प्रतिशतले घटेर ४१ करोड ८५ लाख ९९ हजार रुपैयाँ छ । नेपाल लाइफको नाफा १५ प्रतिशतले घटेर ४६ करोड ५४ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ भने नेसनल लाइफको नाफा १०.२२ प्रतिशतले घटेर ३७ करोड ६ लाख १६ हजार रुपैयाँमा झरेको छ ।

अघिल्लो आर्थिक वर्षमा २ करोड १४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्रिय जीवन बीमा कम्पनी भने गत आर्थिक वर्षमा २ करोड ३८ लाख १ हजार रुपैयाँ नोक्सानीमा छ ।

null

Share News