वैदेशिक रोजगारीमा जानेलाई ३० लाख बढी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने सिराहा घर भएका ४३ वर्षीय हर्ष नारायण चौधरी, काठमाडौं महानगरपालिका-३२ बस्ने म्याग्दी घर भएका ४१ वर्षीय पदम बहादुर खड्का क्षेत्री र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने सप्तरी घर भएका ४८ वर्षीय शिव नारायण चौधरी रहेका छन् । 

पक्राउ मध्ये हर्षले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, पदमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख १० हजार रूपैयाँ र शिवले अजरबैजान पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २२ लाख ४६ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हर्षलाई काठमाडौं महानगरपालिका- १६ बाट र पदमलाई काठमाडौं महानगरपालिका-३२ बाट बिहीबार तथा शिवलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Share News