भन्सार जाँचबिनै ल्याइएका ८ कन्टेनर मुस्ताङमा पक्राउ

काठमाडौं । प्रहरीले भन्सार जाँचबिनै सिल लगाएर ल्याइएका आठ वटा कन्टेनर मुस्ताङबाट नियन्त्रणमा लिएको छ । प्रहरीले कन्टेनरसहित आठ जना चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट शनिबार दिउँसो करिब १२ बजे खटिएको टोलीले अवैध वस्तु ओसारपसार भइरहेको सूचनाका आधारमा जोमसोमस्थित पर्यटक चेकपोस्टमा सवारीसाधन जाँच गरेको थियो ।

जाँचका क्रममा विभिन्न कन्टेनरका कागजपत्र परीक्षण तथा चालकसँग सोधपुछ गर्दा ती सवारीसाधन भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने आशंका भएपछि प्रहरीले आठ वटै कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको हो ।

कन्टेनरभित्र के–कस्ता वस्तु रहेका छन् भन्ने विषयमा राजस्व अनुसन्धान कार्यालयले थप जाँच तथा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका कन्टेनर र चालकहरूमा ना.६ ख ४७४१ नम्बरका कन्टेनर चालक धादिङ धार्के गाउँपालिका–२ का ३० वर्षीय ईश्वर थापा, को.१ ख ५६९६ नम्बरका चालक दोलखा शैलुङ गाउँपालिका–३ का ४३ वर्षीय रत्नबहादुर तामाङ र बा.प्र.०१–००६ ख २२४८ नम्बरका चालक दोलखा भीमेश्वर नगरपालिका–८ का २९ वर्षीय उद्दव बस्नेत रहेका छन् ।

त्यस्तै, बा.प्र.०१–००६ ख ६२७३ नम्बरका चालक पाल्पा तानसेन नगरपालिका–८ का ३६ वर्षीय धर्मबहादुर नेपाली, ना.३ ख ७१६० नम्बरका चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का ३५ वर्षीय कर्म शेर्पा, ना.६ ख २०२२ नम्बरका चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ का ३३ वर्षीय निरोज नेपाली, बा.प्र.१००६ ख ६६११ नम्बरका चालक काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ का २३ वर्षीय विशाल तामाङ र बा.प्र.०१–००५ ख २२४५ नम्बरका चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका ३६ वर्षीय गोपाल श्रेष्ठ रहेका छन् ।

Share News