काठमाडौं । इरानको संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजिजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेटबारे दिएको बयानको प्रतिक्रिया जनाएका छन् ।
अजिजीले ट्रम्पलाई हर्मुज स्ट्रेटबारे लगातार धम्की दिनुको सट्टा आफ्नो सुरक्षाको चिन्ता गर्न सुझाव दिएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् कि आफ्नो सुरक्षाका लागि ट्रम्पले सम्भवतः ‘खाना बोक्ने ट्रक’मा लुक्नुपर्ने अवस्था आउन सक्छ ।
अजिजीको यो प्रतिक्रिया ट्रम्पले अघिल्लो रात आफूले ‘हर्मुज स्ट्रेटलाई अमेरिकी क्षेत्र घोषणा गर्ने’ बताएको भनाइपछि आएको हो ।
पछि ह्वाइट हाउसले ट्रम्पले उक्त कुरा मजाकका रूपमा भनेको स्पष्ट पारेको थियो ।
यद्यपि उनको उक्त भनाइको सञ्चारमाध्यममा व्यापक चर्चा भएको छ भने इरानका विभिन्न अधिकारी तथा राजनीतिक नेताहरूले पनि त्यसबारे प्रतिक्रिया दिएका छन् ।