काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्न र उत्तर कोरिया (डीपीआरके) सँग शान्तिपूर्ण सहअस्तित्वका लागि संवादको आह्वान गरेका छन् ।
जापानी औपनिवेशिक शासनबाट कोरियाली प्रायद्वीप मुक्त भएको ८१ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति लीले दुवै मुलुकलाई अनावश्यक टकराव त्यागेर आपसी सम्मान र साझा समृद्धिको बाटोमा लाग्न आग्रह गरे ।
आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति लीले शान्तिपूर्ण सहअस्तित्वका लागि एक विशेष मार्गचित्र (रोडम्याप) प्रस्तुत गरे ।
उनले कोरियाली युद्धका प्रत्यक्ष सरोकारवाला पक्षहरूबीच वार्ताको माध्यमबाट हाल कायम रहेको अस्थिर युद्धविराम सम्झौतालाई स्थायी शान्ति संयन्त्रमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।
यो प्रस्ताव गत वर्षको मुक्ति दिवसमा राष्ट्रपति लीले व्यक्त गरेको प्रतिवद्धताकै निरन्तरताका रूपमा आएको हो ।
सो समयमा उनले सियोलले उत्तर कोरियाको राजनीतिक प्रणालीको सम्मान गर्ने, जबर्जस्ती गाभ्ने प्रक्रिया अवलम्वन नगर्ने र कुनैपनि शत्रुतापूर्ण गतिविधि नगर्ने घोषणा गरेका थिए ।
ती सिद्धान्तहरूलाई व्यवहारमा उतार्न आवश्यक कदमहरू चाल्न आफू तयार रहेको उनले उल्लेख गरे ।
राष्ट्रपति लीले दुई कोरियाबीचको वैचारिक र संस्थागत शत्रुतालाई क्रमशः न्यूनीकरण गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे । उनले दुवै पक्षले एकअर्काको अस्तित्वलाई स्वीकार गर्दै साझा विकासका सम्भावनाहरू खोजी गर्न संवादको टेबलमा बस्नुपर्ने बताए ।
सहअस्तित्वलाई दिगो बनाउनका लागि दक्षिण कोरियाले तनाव र द्वन्द्व व्यवस्थापन गर्ने संयन्त्रहरू स्थापना गर्ने तथा संकट बढ्न नदिन विभिन्न सुरक्षात्मक उपायहरू अवलम्वन गर्ने उनको योजना छ ।
साथै कोरियाली प्रायद्वीपको सुरक्षा वातावरणको वृहत मूल्याङ्कन गरी सक्रिय र निरन्तर शान्ति प्रक्रिया अगाडि बढाइने राष्ट्रपति लीले प्रतिबद्धता व्यक्त गरे ।
अन्त्यमा उनले कोरियाली युद्धको औपचारिक अन्त्य र वर्तमान युद्धविरामको सट्टा स्थायी शान्ति सन्धि स्थापना गर्न प्रत्यक्ष संलग्न पक्षहरूबीचको वार्ता अपरिहार्य रहेको पुनः दोहोर्याए ।