जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं । अविरल वर्षापश्चात आएको पहिरोमा परी जाजरकोटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका ५४ वर्षीय उमा सिंह खत्री र ८३ वर्षीय रती खत्री मृत अवस्थामा फेला परेका हुन् । घाइते ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाको गैरीगाउँका १४ वर्षीय हरिश बीके अझै पनि बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरी बलका उपप्रवक्ता डीएसपी शैलेन्द्र थापाले पहिरोमा बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको जानकारी दिए ।

बेपत्ताको खोजी तथा उद्धारका लागि टोली परिचालन गरी निरन्तर खोजी भइरहेको छ ।

त्यसैगरी, पहिरोका कारण आठवटा घरमा समेत ठूलो क्षति पुगेको छ ।

गत साउन ३० गते गएको पहिरोमा सोही स्थानका ७ जना घाइते भएका थिए । घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि नेपालगञ्ज तथा सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

पहिरोमा बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमान्डमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

Share News