काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कसरी पराजित भए भनेर कम्युनिष्ट दलहरूले अहिलेसम्म पत्तो पाउन नसकेको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उक्त निर्वाचनमा कम्युनिष्ट दलहरूले अनपेक्षित र व्याख्या गर्न कठिन पराजय बेहोरेको नेता भुसालको भनाइ छ ।
उनले मुलुक पहिलेदेखि नै नालायकहरूबाट शासित भएको भएपनि निर्वाचनपछि लफङ्गाहरूबाट शासित हुन पुगेको टिप्पणी पनि गरे ।
उनले उक्त अभिव्यक्ति आफूले निर्वाचन सम्पन्न हुँदा दिएको भएपनि सरकारको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिले त्यसको पुष्टि गरेको समेत बताए ।
मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिले समाजमा अझै डलाग्दा राजनीतिक दुर्घटनाहरु बढ्ने जोखिम बढेको उनको भनाइ छ । उनले सरकार यही गतिमा थप दुई वर्षसम्म अघि बढ्यो भने के हुन्छ ? भन्दै प्रश्नसमेत गरे ।
नेता भुसालले मुलुकको कम्युनिष्ट आन्दोलनको समीक्षा गरी थप सशक्त भएर जनतामाझ जानुपर्ने आवश्यकता समेत औंल्याए । –न्युज एजेन्सी नेपाल