काठमाडौं । गत वर्ष २३ वटा नयाँ आयोजना सञ्चालनमा आएका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा स्वतन्त्र विद्युत उत्पादकहरूले विकास गरेका २३ वटा नयाँ आयोजना सञ्चालनमा आएका हुन् । साथै ती आयोजनाबाट ५२८.९९ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थपिएको प्राधिकरणले जनाएको छ ।
यससँगै सञ्चालनमा रहेका निजी क्षेत्रका विद्युत आयोजनाको संख्या २२७ पुगेको छ भने ती आयोजनाको कुल जडित क्षमता ३ हजार ४५९ मेगावाट पुगेको छ ।
प्राधिकरणका अनुसार हाल ६ हजार ४७२.२१ मेगावाट जडित क्षमता भएका २१३ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् । त्यस्तै, २ हजार २०० मेगावाटभन्दा बढी क्षमता भएका १०५ वटा आयोजना विकासका विभिन्न चरणमा रहेका छन् ।
विद्युत प्राधिकरणले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ । गत आर्थिक वर्षमा प्राधिकरणले ५४ वटा नयाँ विद्युत खरिद सम्झौता गरेको छ । तीमध्ये पाँच वटा जलविद्युत आयोजनाबाट २८.६ मेगावाट र ४९ वटा सौर्य आयोजनाबाट ६७५ मेगावाट विद्युत खरिदका लागि सम्झौता गरिएको छ ।
यससँगै स्वतन्त्र विद्युत उत्पादकसँग गरिएको कुल विद्युत खरिद सम्झौताको संख्या ५४५ पुगेको छ भने कुल सम्झौताबद्ध क्षमता १२ हजार १३५ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।
ऊर्जा उत्पादनमा निजी क्षेत्रको बढ्दो सहभागितालाई मध्यनजर गर्दै प्राधिकरणले प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रलाई बीओओटी (बिल्ड, ओन, अपरेट एन्ड ट्रान्सफर) मोडलमार्फत सहभागी गराउने नीति अघि सारेको छ । यसअन्तर्गत सरकारले स्वीकृत गरेको शुल्कमा आधारित प्रतिस्पर्धात्मक बोलपत्र (टीबीसीबी) ढाँचाअनुसार चार वटा प्रसारण लाइन आयोजना निर्माणका लागि इच्छुक सेवा प्रदायकबाट आशयपत्र प्राप्त भई मूल्याङ्कनको चरणमा रहेको प्राधिकरणले जनाएको छ ।