अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा

काठमाडौं । अदालतको आदेशलगत्तै पत्रकार किशोर श्रेष्ठ हिरासतमुक्त भएका छन् । उनलाई सोमबार अदालतले रिहा गर्न आदेश दिएको थियो ।

रिहा भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले हिरासतमा रहँदा आफूलाई कानुन व्यवसायीहरूसँग समेत भेट्न नदिइएको गुनासो गरे ।

उनले राज्यका यस्ता कदमको सुरुवात मात्र भएको र भविष्यमा अन्य व्यक्तिहरूमाथि पनि यस्तै व्यवहार हुन सक्ने आशंका व्यक्त गरे ।

आफूले देखेको र सत्य तथ्य समाचार लेखेकै कारण विगतमा पनि सत्ताको ज्यादती बेहोर्नुपरेको स्मरण गराउँदै उनले आफू कहिल्यै नहार्ने बताए ।

‘कानुन व्यवसायीलाई समेत भेट्न दिएनन्, तर मैले हारेको छैन र हार्दिनँ । म नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ,’ उनले भने ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको प्रतिवेदन सार्वजनिक गरेदेखि नै केही पक्षहरू आफूसँग असन्तुष्ट बनेको उनको दाबी थियो ।

पत्रकार श्रेष्ठले कानुन हातमा लिएर राज्यका संयन्त्रहरूको दुरुपयोग नगर्न सरकारलाई चेतावनी समेत दिए ।

Share News