कर्णाली र सुदूरपश्चिममा 'न्यानो नानी' बाँड्दै आइएमई लाइफ इन्स्योरेन्स

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी नवौं वार्षिकोत्सव मनाएको छ । 

स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको कम्पनीले यस वर्ष विविध सामाजिक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो भने देशभरका शाखा कार्यालयहरूमार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतना कार्यक्रमहरू सञ्चालन गरिएका छन् । 

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलका अनुसार यी सामाजिक कार्यक्रमहरूको उद्देश्य समाजका विभिन्न वर्गलाई प्रत्यक्ष सहयोग पुर्याउनुका साथै जीवन बीमाको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नु रहेको छ ।

यसै सन्दर्भमा आइएमई लाइफ इन्स्योरेन्सले राष्ट्रिय आविष्कार केन्द्र (एनआईसी) सँग एक सम्झौता (एमओयू) गरेको छ । 

सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै निर्माण गरेको न्यानो नानी (बेबी वार्मर) उपकरण आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थाहरूमा वितरण गरिनेछ । 

न्यानो नानी समय नपुगी वा कम तौल भई जन्मेका नवजात शिशुहरूको ज्यान जोगाउन प्रयोग गरिने चिकित्सकीय उपकरण हो ।

पहिलो चरणमा सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरूलाई १० थान न्यानो नानी उपकरण हस्तान्तरण गरिनेछ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत थालिएको यो पहलले नवजात शिशुको मृत्युदर घटाउन सहयोग पुग्ने र आगामी दिनमा यस कार्यक्रमलाई अन्य प्रदेशहरूमा पनि विस्तार गर्दै लगिने जानकारी दिए ।

Share News