काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् भने केही सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ बजेसम्म जारी गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।
काभ्रेपलाञ्चोकको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नुवाकोटको टोखा-छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको छ ।
इलाम नगरपालिका-९, राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खसेपछि तथा सोही गाउँपालिकाको लिपिङमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका-५, खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका-२, स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६, रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। लमजुङको बेँसीशहर-मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका-४, रामबजारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
त्यसैगरी, रोल्पा र पाल्पाका प्रमुख सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। रोल्पाको माडी गाउँपालिका-६, झकलीमा रुखसहितको पहिरो खस्दा घोराही-थवाङ-रुकुम सहिदमार्ग अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दुबाट करिब एक सय मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा आज बिहान भूक्षय भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले अवस्था हेरेर सावधानीपूर्वक यात्रा गर्न र आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।