काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भू-भाग र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।
महाशाखाले मौसमसम्बन्धी थप सूचना तथा पूर्वानुमानका लागि नियमित रूपमा जारी हुने सूचनामा अद्यावधिक रहनसमेत आग्रह गरेको छ ।