आज एकैदिन ९ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । संघीय संसद् मातहतका विभिन्न ९ वटा संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आगामी ८ भदौका लागि तय भएको छ भने राष्ट्रिय सभाको बैठक शुक्रबार बस्ने कार्यतालिका छ । सोही कारण आज एकैपटक विभिन्न संसदीय समितिका बैठक बस्न लागेका हुन् । 

कार्यक्रमअनुसार बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ । बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाललगायत सरोकारवाला निकायसँग छलफल गरिनेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बिहान १० बजे बस्नेछ । बैठकमा नेपालमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण तथा बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादनमा असर नपर्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने विषयमा उत्पादकहरूसँग छलफल गरिनेछ ।

पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको बागमती ब्युटिफिकेसन आयोजना का सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान १० बजे बस्नेछ ।

यस्तै, बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल गरिनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

सार्वजनिक लेखा समितिको बैठक पनि बिहान १० बजे बस्नेछ । बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणका सम्बन्धमा छलफल गरिनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक भने अपराह्न १ बजे बस्नेछ । बैठकमा विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

Share News