सरकारी कर्मचारीले पीआर लिएपछि...

काठमाडौं । मुद्रण विभागले मुद्रण सहायक पदमा कार्यरत किरण वाग्लेलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ ।

विभागका अनुसार शिक्षा सेवा, मुद्रण व्यवस्थापन समूह, मुद्रण व्यवस्थापन उपसमूहका राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) मुद्रण सहायक पदमा कार्यरत वाग्ले स्वीकृत असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा अनुपस्थित रहेका छन् ।

वाग्लेले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएको देखिएको भन्दै निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (२) को खण्ड (ग) बमोजिम कसुर गरेको विभागको भनाइ छ ।

यसअघि विभागले उक्त कसुरमा कारबाही किन नगर्ने भन्ने विषयमा उचित आधार र कारणसहित सफाइ पेश गर्न वाग्लेलाई निर्देशन दिएकाे थियो । तर, तोकिएको समयावधिभित्र उनले सफाइ पेश नगरेको विभागले जनाएको छ ।

अब निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम सजाय किन नगर्ने भन्ने विषयमा वाग्लेलाई स्पष्टीकरण पेश गर्न भनिएको छ । विभागले ३० दिनभित्र स्पष्टीकरण पेश गर्न वाग्लेलाई निर्देशन दिएको हाे । 

Share News