काठमाडौं । मध्य अफ्रिकी गणतन्त्र (सीएआर) को पश्चिमी क्षेत्रमा रहेको एक सुन खानीमा पहिरो जाँदा कम्तीमा १०७ जनाको मृत्यु भएको छ ।
क्यामरुनको सीमाना नजिकै पर्ने उक्त खानीमा मंगलबार दिउँसो दुर्घटना भएको स्थानीय अधिकारीले बीबीसीलाई बताएका छन् ।
क्यामरुनको सीमासँग जोडिएको गरुवा–बुलाइ सहरका मेयर अदामो अब्दोनका अनुसार उद्धारका क्रममा हालसम्म १०७ जनाको शव मलबेबाट निकालिएको छ ।
घटनापछि उद्धार तथा राहतको काम जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
घटना के कति कारणले भयो भन्ने अझै स्पष्ट भइसकेको छैन । यद्यपि स्थानीय सञ्चारमाध्यमका अनुसार खानीभित्र रहेका धेरै सुरुङ भासिँदा पहिरो गएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाबारे अधिकारीहरूले अनुसन्धानसमेत थालेका छन् ।
दुर्घटनामा बचेका एक खानी मजदुर सेड्रिक मबाङ्गोले एएफपीलाई दिएको जानकारीअनुसार जमिन पूर्ण रूपमा भासिँदा धेरै मानिस मलबेमा पुरिएका थिए । उद्धारका क्रममा पनि केही व्यक्ति मलबेमा फसेको उनले बताएका छन् ।
क्यामरुनको पूर्वी क्षेत्रका गभर्नरका अनुसार मृत्यु हुनेमध्ये कम्तीमा तीन जना क्यामरुनका नागरिक छन् ।
उनीहरूको शव अन्त्येष्टिका लागि क्यामरुन पठाउने तयारी भइरहेको छ । घाइते तथा घटनाबाट बचेका व्यक्तिको उपचारको व्यवस्था पनि मिलाइएको छ ।
एएफपीका अनुसार घाइते र उद्धार गरिएका व्यक्तिहरूलाई घटनास्थलबाट करिब ५० किलोमिटर टाढा सीएआरको बाबुआ सहरस्थित अस्पतालमा लगिँदैछ ।
यस क्षेत्रमा परम्परागत तथा सानो स्तरको सुन खानी धेरै परिवारको आम्दानीको प्रमुख स्रोत हो ।
तर खानीमा काम गर्ने अवस्था जोखिमपूर्ण रहेको र मजदुरहरूले स्वास्थ्य तथा वातावरणसँग सम्बन्धित विभिन्न जोखिम सामना गर्दै आएका छन् ।
खानी भासिने र पहिरो जाने घटना यस क्षेत्रमा नयाँ भने होइन । धेरैजसो खानीका खाल्डा तथा सुरुङलाई सुरक्षित रूपमा बन्द नगरिने र भारी वर्षाका कारण माटो कमजोर हुने भएकाले यस्ता दुर्घटनाको जोखिम बढ्ने गरेको बताइएको छ ।