नाबालिकाको चरित्र हत्या गर्ने आरोपमा १९ वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकासँग सम्बन्धित विषयमा आपत्तिजनक सामग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोका अनुसार सामाजिक सञ्जालमा नाबालिकासँग प्रेमसम्बन्धमा रहेको भन्दै विभिन्न सामग्री पोस्ट गरी चरित्र हत्या गर्ने तथा रकमसमेत माग गरेको सम्बन्धमा परेको उजुरीका आधारमा ती युवकलाई पक्राउ गरिएको हो ।

प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा उक्त गतिविधिमा संलग्न रहेको खुलेपछि नुवाकोटको शिवपुरी गाँउपालिका–७ बस्ने १९ वर्षीय सुदीप कटवाललाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

ब्युरोबाट खटिएको टोलीले कटवाललाई भदौ ३ गते पक्राउ गरेको हो ।

पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ । साइबर ब्युरोका अनुसार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

Share News