प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाबाट २५ सय भन्दा बढीको मृत्यु

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा इबोलाबाट ५ हजार भन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् भने २ हजार ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

शुक्रवार सार्वजनिक गरिएको सरकारी प्रतिवेदन अनुसार, अगस्ट १९ सम्म कंगोमा ५ हजार २ सय ९० जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ५ सय १६ जनाको मृत्यु भइसकेको छ । 

यस प्रकोपमा मृत्युदर ४७.६ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ ।

गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप कंगोको इतिहासकै सबैभन्दा ठूलो र घातक महामारी बनेको छ । 

विश्वव्यापी रूपमा पनि यो हालसम्मकै दोस्रो ठूलो इबोला महामारी हो ।

महामारीको रूप लिइसकेको यस प्रकोपलाई रोक्न सरकारले खोप अभियानलाई तीव्रता दिएको छ ।

कंगोको स्वास्थ्य मन्त्रालयकाअनुसार राजधानी किन्शासास्थित एन‘डिजिली अन्तर्राष्ट्रिय विमानस्थलमा ‘इर्भवेबो’ खोपको कुल १६ हजार ५ सय २० मात्रा (डोज) आइपुगेको छ । 

मन्त्रालयले अगस्ट २१ देखि २४ को बीचमा थप ५० हजार १ सय २० मात्रा खोप आइपुग्ने अपेक्षा गरिएको जानकारी दिएको छ । 

विश्व स्वास्थ्य संगठन र अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबार दिएको जानकारीअनुसार कंगो सरकारको अनुरोधमा खोप व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह (आईसीजी) ले ७० हजार मात्रा इर्भवेबो खोप तत्काल उपलब्ध गराउन स्वीकृति दिएको छ । 

‘इर्भवेबो’ खोप खासगरी ‘जायर इबोला भाइरस’ विरुद्ध प्रयोगका लागि अनुमति प्राप्त र सिफारिस गरिएको खोप हो । 

यद्यपि, कंगोमा हाल फैलिएको ‘बुन्डिबुग्यो’ भाइरस विरुद्ध यो खोप कत्तिको प्रभावकारी हुन्छ भन्ने विषय अझै अनुसन्धानकै क्रममा छ ।

उपलब्ध खोपमध्ये २० हजार मात्रा बुन्डिबुग्यो भाइरस विरुद्धको प्रभावकारिता मूल्याङ्कन गर्न तेस्रो चरणको क्लिनिकल ट्रायलमा प्रयोग गरिनेछ । 

बाँकी ५० हजार मात्रा भने महामारीको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूका लागि प्रयोग गरिने योजना छ ।

Share News