काठमाडौं । विभिन्न दुई कम्पनीले लाभांश घोषणा गरेका छन् । भेन्चर हायर पर्चेज लिमिटेड र नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लाभांश घोषणा गरेका हुन् ।
भेन्चर हायर पर्चेजको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले भदौ ३० गते दिउँसो ३ बजे काठमाडौं-३, पानीपोखरीमा १०औँ वार्षिक साधारणसभा बोलाएको छ ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा लेखापरीक्षक नियुक्ति, सञ्चालक नियुक्तिको अनुमोदन, सञ्चालक समितिको बैठक भत्ता निर्धारण र सार्वजनिक निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
यस्तै, नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १५ लाख ५७ हजार ३४३ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीले भदौ १४ गते दिउँसो ३:३० बजे एभरेस्ट होटल, नयाँ बानेश्वरमा दोस्रो वार्षिक साधारणसभा बोलाएको छ ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षक नियुक्ति तथा स्वतन्त्र सञ्चालक नियुक्तिको अनुमोदन गर्नेछ ।
त्यस्तै, कम्पनीको उद्देश्यसँग मेल खाने लगानी कम्पनीहरूलाई गाभ्ने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने तथा प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।