काठमाडौं । चीनका ३ कम्पनीबाट २ खर्ब रुपैयाँ लगानी ल्याई ५ वर्षमा १ हजार मेगावाट बिजुली उत्पादनको सम्झौता गरेपछि बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) सेयर मुल्य बढेको छ ।

चीनियाँ कम्पनीसंग लगानी सम्झौता गर्ने दिन बीपीसीको सेयर प्रतिकित्ता ६२८ रुपैयाँ थियो । त्यसपछि लगातार बढेर अहिले प्रतिकित्ता ६८१ रुपैयाँ पुगेको छ । कारोबार भएको ३ दिनमा बीपीसीको सेयर मूल्य प्रतिकित्ता ५३ रुपैयाँ बढेको छ । सोमबार बीपीसीको मात्र ३ करोड ७१ लाख ४८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
हालसम्म बीपीसीले गत आवमा गरेको नाफाबाट दिने लाभांश घोषणा गरेको छैन् । गत वर्षको हारहारीमा लाभांश दिने तयारी बीपीसीको छ ।
गत बुधबार बीपीसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब बढी (२ अर्ब डलर) वैदेशिक लगानी ल्याउने सम्झौता गरेको हो ।
जलविद्युत आयोजना बनाउन चीनका ३ वटा कम्पनी र नेपाली साझेदार बीपीसीको संयुक्त लगानीमा एसजीआईजी इन्टरनेसनल नेपाल हाइड्रोपावर ज्वाइन्ट डेभलपमेन्ट कम्पनी स्थापना भएको छ । कम्पनीका दर्ता बुधबार नै भएको छ । होल्डिङ कम्पनीमार्फत आउदो ५ वर्षमा थप ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
तत्काल १ अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा बीपीसीका २० प्रतिशत र बाँकी चिनियाँको छ । जसअनुसार सिचुवान इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको ५१, चेन्दु सिच्याङ इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको १७ र क्विङयाङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडको १२ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।