काठमाडौं । नयाँ जीवन बीमा कम्पनीहरुले धमाधम साधारण सभाबाट आईपीओ निष्काशन गर्ने निर्णय गरिरहेका छन् । तर ती कम्पनीहरुको आईपीओ भने २०७६ सालमा मात्रै आउने देखिएको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा रहेको व्यवस्था अनुसारका सबै प्रक्रिया पुरा गरेर आईपीओ निष्काशन गर्दा २०७६ साल पुग्ने देखिएको हो ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा बीमा कम्पनीले आईपीओ निष्काशन गर्नका लागि आफ्नो उदेश्य अनुसार कारोबार सञ्चालन गरेको एक आर्थिक बर्षको लेखा परिक्षण गरिएको वित्तीय विवरण सार्वजनिक रुपमा प्रकाशन गर्नुका साथै साधारण सभा समेत सम्पन्न गरिसकेको हुनुपर्ने व्यवस्था गरेको छ । ‘ बीमा कम्पनीले साउन देखि असारसम्म आफ्नो उदेश्य अनुसार कारोबार गरेर साधारण सभाबाट पारित गरिएको परिस्कृत वित्तीय विवरण पेश गरेपछि मात्रै साधारण सेयर निष्काशन गर्न पाउँछन्’, नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले भने ।
बीमा समितिले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । तर अधिकांश जीवन बीमा कम्पनीहरुले पुस मसान्त भित्र साधारण सभा गर्न नसकेपछि सो व्यवस्था परिमार्जनबारे छलफल भैरहेको समितिकाे उच्च श्रोतले बतायो । ‘जीवन बीमा कम्पनीहरुले पुस मसान्तभित्र साधारण सभा गर्न अप्ठेरो भैरहेकाले त्यसमा परिमार्जन गर्ने सोँच बनिरहेको छ’, बीमा समिति श्रोतले भन्यो । धितोपत्र दर्ता तथा निष्काशन नियमावलीले तोकेका सबै सर्तहरु पुरा गर्दा नयाँ जीवन बीमा कम्पनीहरुको आईपीओ २०७६ सालमा पुग्ने स्पष्ट देखिएको हो ।
यस्तो छ प्रक्रिया
नयाँ जीवन बीमा कम्पनीहरुले आर्थिक बर्ष २०७४/७५ को वित्तीय विवरण सार्वजनिक गरेर बीमा समितिमा पेश गर्नुपर्ने व्यवस्था छ । एक्चुरी गरिएको रिपोर्ट समेटेर परिस्कृत रिपोर्ट बुझाउनु पर्छ । नेपालमा एक्चुरी नहुने भएकाले विदेशी कम्पनीसँग एक्चुरी गराउँदा कम्तिमा पनि २ महिना लाग्ने बताइन्छ । एक्चुरी गरेर बीमा समितिमा पुर्ण प्रतिवेदन पास गराउन करिब ३ महिना लाग्ने गरेको छ ।
पुसमा साधारण सभा गरेको कम्पनीले छिटो गरि बुझाउँदा पनि चैत महिना पुग्नेछ । साधारण सभाले गरेको निर्णयलाई समितिले अनुमोदन गरेपछि सम्बन्धीत कम्पनीले बिक्री प्रबन्धक तोकेर धितोपत्र बोर्डमा अनुमति दिन पाउनेछ । धितोपत्र बोर्डमा अनुमति मागेको न्युनतम एक हप्तामा कम्पनीसँग थप विवरणका लागि लेखी पठाउने गरेको छ । कम्पनीले थप विवरण पेश गरेको अर्काे पाँच दिन भित्र बोर्डले साधारण सेयर निष्काशनका लागि अनुमति दिने गरेको सहायक प्रवक्ता घिमिरेले बताए ।
धितोपत्र बोर्डले साधारण सेयर निष्काशनका गर्नु १० दिन अघि नै सम्बन्धीत कम्पनीले प्रबन्ध पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । वित्तीय विवरण, एक्चुरीसहितको परिस्कृति वित्तीय विवरण, साधारण सभाको निर्णय, पुनः बीमा समितिको अनुमति, बिक्री प्रबन्धक नियुक्त, धितोपत्र बोर्डमा आवेदन, बोर्डका प्रक्रिया र कम्पनीको जवाफपछि बल्ल निष्काशनको अनुमति पाउनेछन् । यी सबै प्रक्रिया पुरा गरेर आईपीओ निष्काशन गर्न नयाँ जीवन बीमा कम्पनीहरुले २०७६ सालसम्म कुनुपर्ने देखिएको हो ।
कुन कम्पनीले कहिले गरे आईपीओ निष्काशनको निर्णय ?
युनियन लाइफले कात्तिक १४ गतेको साधारण सभाबाट आईपीओ निष्काशनको निर्णय गरेको थियो भने आइएमई लाइफले पुस २६ गतेको साधारण सभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गराएको थियो । ज्योति लाइफले माघ १० गतेको साधारण सभाबाट आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो भने सन नेपाल लाइफ इन्स्योरेन्सले फागुन ४ गतेको साधारण सभाबाट आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो ।
कति आउँछ आईपीओ ?
नयाँ जीवन बीमा कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न पाउनेछन् । बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ ।