प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय छलफल हुँदै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच निर्वाचनको वातावरण निर्माणलगायत विषयमा त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री निवासमा बुधबार अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुखलगायत दलका प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवं प्रतिनिधि सहभागी हुनेछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले निर्वाचन सफल बनाउन चरणबद्ध वार्ता र छलफल जारी रहेको सन्दर्भमा बुधबार त्रिपक्षीय बैठक आह्वान गरिएको जानकारी दिए । आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माणका क्रममा सरकारले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सम्बद्ध पक्षसँग औपचारिक र अनौपचारिक वार्ता र छलफल गर्दै आएको छ ।
कुमारी बैंकद्वारा 'कुमारी' तृष्णा शाक्यलाई ७ लाख ३८ हजार छात्रवृत्ति रकम हस्तान्तरण
काठमाडौं । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ । बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि प्रत्येक वर्ष एक लाख रुपैयाँका दरले छात्रवृत्ति कोष खडा गरी रकम संकलन गर्दै आएको छ । यस छात्रवृत्ति कार्यक्रमको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्याउने रहेको बैंकले जनाएको छ । सोही परम्परालाई निरन्तरता दिँदै, बैंकले यस वर्ष सो कोषमा जम्मा भएको कुल रकम ७ लाख ३८ हजार ८११.९५ रुपैयाँ निवर्तमान कुमारी तृष्णा शाक्यलाई छात्रवृत्तिका रूपमा हस्तान्तरण गरेको हो ।
स्वास्थ्यकर्मीको पारिश्रमिक ज्ञान, सीप र अनुभवलाई आधार गर्न अफिनको माग
काठमाडौं । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले स्वास्थ्यकर्मीको पारिश्रमिक ज्ञान, सीप र अनुभवलाई आधार हुनुपर्ने माग राखेको छ । अफिनले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । स्वास्थ्यकर्मीको पारिश्रमिक सहित अफिनले ७ बुँदे माग राखेको छ । स्वास्थ्य र शिक्षा क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्ने नीति लिनुपर्ने, निजी अस्पताल र शिक्षण संस्थासम्बन्धी निर्देशिकाका संशोधन, अफिनको अनिवार्य सहभागिता सुनिश्चित र समन्वयका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै कक्षको माग गरिएको छ । त्यस्तै विपन्न र असहाय बिरामी पहिचानका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने र सक्षम निजी अस्पतालहरूलाई स्वास्थ्य शिक्षण कार्यक्रम सञ्चालनका अवसर दिनुपर्ने अफिनको माग गरेको छ । निजी स्वास्थ्य क्षेत्रले करिव ४ सय १ अस्पतालमार्फत २० हजार शैय्यामा स्वास्थ्य सेवा प्रदान गर्दै करिव एक लाखभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको र राष्ट्रको कुल जनसंख्याको ६५ प्रतिशतलाई आधुनिक तथा प्रविधिमैत्री स्वास्थ्य सेवा दिँदै आएको अफिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष पदमबहादुर खड्काले हस्ताक्षर गरेर जारी गरिएको विज्ञप्तिमा स्वास्थ्यकर्मीहरूले पारिश्रमिकको विषयलाई लिएर केही मेडिकल कलेजमा आन्दोलन गरेका घटनाप्रति अफिनले चिन्ता व्यक्त गरिएको छ ।
बैतडीमा अठार जनामा डेङ्गी सङ्क्रमण
बैतडी । बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताए । स्वास्थ्य कार्यालयमा प्राप्त तथ्याङ्कअनुसार मेलौली नगरपालिकाका आठ जना, दशरथचन्द नगरपालिकाका छ जना, पुर्चौंडी नगरपालिकाका तीन जना र पाटन नगरपालिकाका एक जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । जिल्लाका अन्य स्थानीय तहमा डेङ्गीका बिरामी फेला नपरेका जनाएको छ । गत वर्ष जिल्लामा १०६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो । हाल लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जिल्लाभरि सञ्चालन भएको छ । एडिस जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने गर्दछ । डेङ्गीबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जोड दिए । डेङ्गी सङ्क्रमण हुँदा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्ने जस्ता कडा खालका लक्षणसमेत देखापर्ने गर्दछन् । यस्ता खालका लक्षण देखिएमा डेङ्गी जाँच गर्नु आवश्यक रहेको र जाँच नगरिकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या निम्तिने भएकाले योतर्फ सबैले सचेत हुनुपर्नेमा स्वास्थ्य कार्यालयले जोड दिएको छ । रासस
खानेपानीका स्थानीय योजनामा बजेट अभाव
पाँचथर । जिल्लामा पालिका तथा वडा स्तरमा निर्माण तथा मर्मत भइरहेका खानेपानीका योजनामा बजेट अभाव भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ यादवका अनुसार १३ वटा खानेपानी योजनामा बजेट अभाव भएको हो । संघीय सशर्त अनुदानमा निर्माण तथा मर्मत भइरहेका फिदिम, लुम्फाबुङ, लुङरुपा, पौवासारताप, खाल्डेखोल्सी, दुर्दिम्बा, सूर्यधन, इम्बुङ, रानीटार, रवि बजार, माङ्जाबुङ, फाक्तेपलगायत खानेपानी योजनामा बजेट अपुग भएको हो । आर्थिक वर्ष २०८२/०८३ मा यी योजनालाई बजेट नभएपछि कार्यालयले प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयलाई पत्राचार गरिएको छ । बाढी पहिरोका कारण खानेपानीका केही योजनामा क्षति भएको छ । गत आवमा विपदबाट क्षतिग्रस्त मुख्य १५ वटा योजनाको सोही वर्षभित्र मर्मतका लागि १० करोड बजेट माग गरिएको थियो तर मन्त्रालयले एक करोड बजेट मात्र निकासा गरेको उनले बताए ।
यसरी भयो लुबुचेमा हेलिकप्टर दुर्घटना
काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड एयरको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो । हेलिकप्टर पाइलट विवेक खड्काले चलाएका थिए । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोजित कुवँरका अनुसार हेलिकप्टर ल्याण्ड हुने बेला चिप्लिएर दुर्घटना भएको हो । उनका अनुसार हेलिकप्टरमा यात्रु नभएकोले कुनै मानवीय क्षति हुन पाएन । पाइलट खड्का पनि सुरक्षित रहेकाे उनले बताए । सुरुमा हेलिकप्टरबाट धुवाँ निस्किए पनि पछि त्यहाँ भएका मानिसहरुले आगो निभाएका थिए । त्यसपछि ठूलो दुर्घटना टरेको उनको भनाइ छ ।
ओपन एआईमा माइक्रोसफ्टको १३५ अर्ब डलर लगानी, ओगट्यो २७ प्रतिशत हिस्सा
काठमाडौं । माइक्रोसफ्ट र ओपन एआईले मङ्गलबार उनीहरूको ऐतिहासिक कृत्रिम बौद्धिकता साझेदारीको व्यापक सुधारको घोषणा गरेका छन् । यसले दुबै कम्पनीहरूलाई उनीहरूको घनिष्ठ सहयोग कायम राख्दै अझ बढी स्वतन्त्रता प्रदान गर्दछ । ओपन एआई वेबसाइटमा एक ब्लग पोष्टका अनुसार माइक्रोसफ्टले पुनर्गठित ओपन एआईको लगभग २७ प्रतिशत हिस्सा ओगटेको छ । यो हिस्सा अनुसार लगभग १३५ अर्ब डलर बराबरको लगानी माइक्रोसफ्टको हुनेछ। ओपनएआईले विशाल प्रविधि कम्पनी माइक्रोसफ्टको एजुर क्लाउड सेवाहरूमा २५० अर्ब डलर खरीद गर्ने प्रतिबद्धता पनि गरेको छ, यद्यपि माइक्रोसफ्टसँग अब ओपनएआईको गणना प्रदायकको रूपमा पहिलो अस्वीकृति अधिकार छैन । सम्झौतामा, ओपनएआईको मोडेल र उत्पादनहरू दुवैको लागि माइक्रोसफ्टको बौद्धिक अधिकार २०३२ सम्म विस्तार गरिएको छ। ‘हामी जब यस साझेदारीको अर्को चरणमा प्रवेश ग¥यौँ, हामीले नयाँ निश्चित सम्झौतामा हस्ताक्षर गर्यौँ । यसले हाम्रो जग निर्माण गर्छ, साझेदारीलाई बलियो बनाउँछ र दुबै सङ्गठनहरूको लागि दीर्घकालीन सफलताको लागि चरणको तय गर्छ,’ साझेदार कम्पनीहरूले एक संयुक्त विज्ञप्तिमा भनेका छन् । माइक्रोसफ्ट च्याटजीपीटी निर्मातामा एक प्रमुख लगानीकर्ता भएको छ किनकि कम्पनी जेनेरेटिभ एआईको वरिपरि खर्च उन्मादमा प्रमुख खेलाडी बनेको छ । यो प्रविधि चाँडै दैनिक जीवनको महत्त्वपूर्ण पक्षहरूमा बिस्तार हुनेछ । साम अल्टम्यानको नेतृत्वमा ओपनएआईले अन्य कम्पनीहरूसँग आफ्नो साझेदारी विस्तार गर्न खोजेको छ, जसले माइक्रोसफ्टसँगको यसको सम्झौता अब मान्य छ कि छैन भन्ने प्रश्न उठाएको छ। सन् २०१५ मा एलन मस्कसहित प्राविधिक विशेषज्ञहरूले स्थापना गरेको सानो एआई अनुसन्धान संस्थामा सन् २०१९ माएक अर्ब डलर लगानी गरेर सु भएको साझेदारीको निरन्तरताले दुई प्रविधि कम्पनीलाई एक बन्न प्रेरित गरिराखेको छ। माइक्रोसफ्टले २०२१ मा थप कोषसहित आफ्नो प्रतिबद्धतालाई गहिरो बनाएको थियो फेरि सन् २०२३ जनवरीमा ओपनएआईको च्याटजीपीटी च्याटबोटको विस्फोटक लोकप्रियता पछि सन् २०२२ नोभेम्बरमा १० अर्ब डलरको लगानीसहित अघि बढेको थियो । साझेदारीले दुबै कम्पनीहरूलाई रूपान्तरण गरेको देख्न सकिन्छ ।
सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना
काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो । हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।