विकासन्युज

बंगालको मौसमी चक्रवात मोचाको प्रभाव नेपालका विभिन्न प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित मौसमी चक्रवात मोचा भारतका बिभिन्न राज्य हुँदै नेपालको पूर्वी भूभागतर्फ प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार यो चक्रवातको असरले देशका पूर्वी र मध्य क्षेत्रका अधिकांश भागमा आगामी तीन दिनसम्म भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।   'बंगलाको खाडीमा विकसित चक्रवात मोचा आज भारतको उत्तर–उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालको पूर्व–मध्य भागमा कात्तिक १२ गते राति प्रवेश गर्ने क्रममा रहेको छ,' विभागले जारी गरेको सूचनामा भनिएको छ । विभागका अनुसार उक्त प्रणालीको प्रभाव मंगलबार रातिदेखि बिहीबारसम्म देशका धेरैजसो भूभागमा पर्नेछ । विशेष गरी मधेश, कोशी र बागमती प्रदेशका थौरै स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पनि केही स्थानमा मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुन सक्ने विभागले जानकारी दिएको छ । विभागका अनुसार बागमती, गण्डकी, कोशी र कर्णाली प्रदेशका नदी–खोला आसपासका बस्तीहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहेको छ । बागमती, कन्काई, कमला, तामोर, अरुण, बुढीगण्डकी, त्रिशुली, मर्स्याङ्दी, कालीगण्डकी र राप्ती लगायतका नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने विभागले बताएको छ ।  विभागका अनुसार विशेष जोखिममा पर्ने जिल्लाहरूमा इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर, नुवाकोट रहेका छन् । यस्तै चितवन, लमजुङ, तनहुँ, गोरखा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङजा, रुपन्देही, नवलपरासी, पाल्पा र गुल्मीमा पनि जेखिम रहेको बिभागले आफ्नो सूचनामा जनाएको छ । दाङ, रोल्पा, प्युठान, रुकुम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट र कालीकोटमा समेत जोखिम उच्च रहेको छन् । विभागले जनतालाई बाढी–पहिरो, चट्याङ, हावाहुरी र हिमपातबाट जनजीवन, यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा असर पर्ने सम्भावना भएकाले सुरक्षित स्थानमा रहन सुझाव दिइएको छ । साथै, आकस्मिक परिस्थितिमा विभागको वेबसाइट, सामाजिक सञ्जाल पेज र टोल–फ्रि नम्बर (११४९) सेवामार्फत अद्यावधिक जानकारी लिन पनि अनुरोध गरिएको छ ।  

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा हुँदै थापा, डेपुटी गभर्नर मिश्रका 'ब्याचमेट’

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी) मा राजन विक्रम थापा नियुक्त हुने भएका छन् । डा. गुणाकर भट्ट अनिवार्य अवकाशमा गएसँगै थापा वष्ठितमका आधारमा स्वतः कार्यकारी निर्देशकमा बढुवा हुन लागेका हुन् । थापा अहिले कायममुकायम कार्यकारी निर्देशक पदमा कार्यरत छन् ।  उनी वि.सं २०५३ मा सहायक पदबाट बैंक प्रवेश गरेका थिए । विसं २०५९ साउन २७ गते सहायक निर्देशक पदमा पदोन्नति भएका थापा एक सातापछि कार्यकारी निर्देशक पदमा बढुवा हुन लागेका हुन् । उनी यसै साता राष्ट्र बैंकको ईडीमा पदोन्नति हुनुपर्ने हो । तर, राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल देशबाहिर रहेकाले उनको पदोन्नति एक साता पर धकेलिएको हो । गभर्नर डा. पौडेल कात्तिक १७ गते मात्रै नेपाल फर्किने तालिका छ । विसं २०५९ साउन २७ गते सहायक निर्देशक पदमा हालका डेपुटी गभर्नर बम बहादुर मिश्रसहित २० जना राष्ट्र बैंकमा प्रवेश गरेका थिए । सोही समूहमा थापा पनि थिए । तर, आन्तरिक परीक्षा र बढुवा प्रक्रियाबाट मिश्र डेपुटी गभर्नर बनेका छन् भने अन्य केही व्यक्ति कार्यकारी निर्देशक । थापासँगै राष्ट्र बैंक प्रवेश गरेका २० जनामध्ये ६ जना सेवा निवृत्त भइसकेका छन् भने ४ जना कार्यकारी निर्देशक र ९ जना निर्देशक गरी १४ जना राष्ट्र बैंकको व्यवस्थापन तहमा छन् । थापा समकालीन विषयवस्तुमा लेखहरू लेख्छन् भने साहित्यिक र गीतहरूमा समेत रूची राख्छन् । उनी सामाजिक कार्यमा समेत अग्रसर रूपमा काम गरिरहेका छन् । 

राष्ट्रिय सभाका सचिव अर्यालले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, सङ्घीय संसद्का महासचिव र प्रतिनिधिसभाका सचिवसमक्ष राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले मंगलबारदेखि लागू हुनेगरी राजीनामा दिएका छन् ।       राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार सचिव अर्यालले राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५ को दफा (६) को खण्ड ‘क’ बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा स्वीकृत हुन पदबाट लिखित राजीनामा दिएको जनाइएको छ ।   

अब नेपालीलाई मलेसिया जान पनि कडाइ, तोकियो यस्तो मापदण्ड

काठमाडौं । मलेसियाले नेपाली कामदारमाथि कडाइ गरेको छ । नेपालबाट मलेसिया कामको लागि जाने कामदारहरुका लागि केही नयाँ व्यवस्था थप गर्दै मलेसियाले कडाइ गरेको सन्देश प्रवाह गरेको हो ।  मलेसियाले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान र म्यानमारबाट श्रमिक पठाउने म्यानपावर कम्पनीको १० बुँदे मापदण्ड निर्धारण गरेको छ । अब तोकिएको मापदण्ड पूरा नगर्ने म्यानपावर कम्पनीबाट श्रमिक नलिने जानकारी सम्बन्धित देशलाई पठाएको हो । कात्तिक २९ गते अर्थात् नोभेम्बर १५ भित्रै मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था मलेसियाले गरेको छ ।  अब मलेसियाले म्यानपावर कम्पनीले इजाजतपत्र लिएको ५ वर्ष हुनुपर्ने, ५ वर्षभित्र कम्तीमा तीन हजार श्रमिक पठाएको हुनुपर्ने, कम्तीमा तीन देशमा श्रमिक पठाएको हुनुपर्ने, १० हजार वर्गफुटमा फैलिएको कार्यालय हुनुपर्ने, म्यानपावर कम्पनी सञ्चालकको असल चरित्रको प्रमाणपत्र भएको हुनुपर्ने, बाध्यकारी श्रम, मानव तस्करी, श्रम कानुनको उल्लङ्घन, मुद्रा अपचलन र अन्य आर्थिक अपराधमा संलग्न नभएको हुनुपर्नेलगायतका मापदण्ड निर्धारण गरेको छ ।  नेपालले यी मापदण्ड पूरा भएका म्यानपावरलाई सूचीबद्ध गरेर पठाएपछि मात्र मलेसियाको मानव संसाधन मन्त्रालयले समीक्षा गरी छनोट गर्ने पत्रमा उल्लेख छ । गत वर्षको कार्तिक १२ देखि नेपाल र मलेसियाबीच भएको श्रम सम्झौता नवीकरण भएको छैन । मलेसियाको यो मापदण्डले नेपाली श्रमिक मलेसिया जान थप सकस हुने बुझिएको छ ।   

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले कमलादीस्थित स्काइवाक टावरमा छुटसहित मनोरञ्जन लिन सक्ने भएका छन् । बैंक र वन्डर नेपालबीच सोमबार यस सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकहरूले स्काइवाक टावरमा सेवा लिँदा डिजिटल भुक्तानी गरेबापत २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्दा उक्त छुट लागू हुनेछ । एनआईसी एशिया बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई आकर्षक छुट सुविधा उपलब्ध हुनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

एमालेले गर्‍यो जेनजी आन्दोलनका घटनामा संलग्नहरूको पहिचानका लागि सूचना बैंक स्थापना

काठमाडौं । नेकपा एमालेले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचान र कारबाहीका लागि प्रमाण संकलन गर्ने उद्देश्यले सूचना बैंक स्थापना गरेको छ । पार्टीका एक नेताका अनुसार आन्दोलनका समयमा विभिन्न व्यक्तिहरूले टिकटक, रिल तथा अन्य सामाजिक सञ्जालमा राखेका भिडिओ र तस्विरहरूबाट प्रमाण संकलन गरी सुरक्षित राख्ने तयारी भइरहेको छ । नयाँ प्रमाणहरू फेला परेमा ती पनि केन्द्रीय स्तरमै भण्डारण गरिने उनले जानकारी दिए । एमालेले देशभरका सरकारी कार्यालय, प्रहरी चौकी, व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा भएका आगजनी, तोडफोड र लुटपाटका घटनासम्बन्धी सबै प्रमाण संकलन गर्न केन्द्रीय कार्यालयमा विशेष डेस्क स्थापना गरीएको जनाएको छ । पार्टीका अनुसार यस अभियानको मुख्य उद्देश्य ती घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान गरी कानूनी कारबाहीका लागि आवश्यक प्रमाणिक आधार तयार गर्नु हो ।

६२ अंकले बढेको सेयर बजारमा ४ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ अंकले बढेर २५७१ बिन्दुमा पुगेको हो ।  आज २३६ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  मंगलबार ३१४ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन पावर पाटर्नरको भएको छ । हिमालयनको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनियन हाइड्रोपावरको २३ करोड, राधी विद्युत कम्पनीको २१ करोड, बुटवल पावर कम्पनीको १९ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । न्यादी हाइड्रोपावर र बुटवल पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  मंगलबारको कारोबारमा व्यापार समूह बाहेक अरु सबै समूहको उपसूचक बढेका छन् । बैंकिङ समूह १.९२, विकास बैंक ४.४७, फाइनान्स ३.१४, होटल र पर्यटन २.८०, हाइड्रोपावर ३.९०, लगानी ३.१९, लाइफ इन्योरेन्स ३.५५, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स २.५९, म्युचल फण्ड ०.४६, नन लाइफ इन्स्योरेन्स २.५४ र अन्य १.१९ प्रतिशतले बढेका छन् । व्यापार समूह ०.७६ प्रतिशतले घटेको छ ।

ओलीमाथि लगाइएको स्थानहद विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि तोकिएको स्थानहद निर्णयविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट दायर गरिएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले सार्वजनिक सरोकारको विषयका रूपमा मंगलबार उक्त रिट सर्वोच्च अदालतमा दर्ताका लागि पेश गरेका हुन् । उनले ओलीमाथि लगाइएको स्थानहद असंवैधानिक र कानूनी प्रावधानविपरीत रहेको दाबी गरेका छन् । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार रिट निवेदन अध्ययनको चरणमा रहेको छ । उनले भने, 'रिट पेश भइसकेको छ, हाल अध्ययन भइरहेको छ। अध्ययन पूरा भएपछि दर्ता हुने वा नहुने भन्ने निर्णय हुनेछ ।' यसअघि काठमाडौं उपत्यका प्रशासनले ओलीलाई उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकेको थियो, जसको विरोधमा यो रिट सर्वोच्चमा दायर गरिएको हो ।