साढे ७ करोडको सेयर बेचेर जीवन विकास लघुवित्तबाट बाहिरिँदै भरतलाल
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साढे ७ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका संस्थापक सेयरधनी भरत लाल बहरदारले आफ्नो नाममा रहेको १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम ५ सय रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा संस्थापक सेयरधनी बहरदारले ७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिभित्र आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ । यस्तै, मातृभूमि लघुवित्तका एक जना सेयरधनीले आफ्नो नाममा रहेको २ हजार २६८ कित्ता सेयर बिक्रीमा राखेका छन् ।
अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, व्यवसायी भन्छन्, ‘यति धेरै आउलान् भनेर कल्पना गरेका थिएनौँ’
सन्तोष गौतम काठमाडौं । म्याग्दी स्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ भएका छन् । होटल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यालय कलेजका विद्यार्थी, युवा तन्नेरी, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाका रोजाइमा मुस्ताङ र अन्नपूर्ण आधार शिविर परेको हो । स्थल मार्गबाट घुम्नेहरूका रोजाइमा ती चार जिल्लाका पर्यटकीय स्थल परेको छ । आन्तरिक पर्यटकको पहिलो रोजाइमा मुस्ताङ जिल्लास्थित मुक्तिनाथ दर्शन गर्ने गन्तव्य बनेको छ । मुस्ताङ पुगेकाहरूले कोरला नाका, लोमानथाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन् । यहाँ बर्सेनि ८ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने जनाइएको छ । छोटो अवधीमा पहाडी र हिमाली क्षेत्रको एकै पटक साहसिक यात्रामा रुची राख्नेहरू म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका छन् । फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल हुँदै ४ हजार १९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगिन्छ । तीन दिनमा आधार शिविर पुगेर फर्कन सकिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको अन्नपूर्ण आधार शिविर नयाँ गन्तव्य पनि हो । म्याग्दी हुँदै सडक मार्ग भएर दैनिक ८ हजार जना मुस्ताङ भित्रिएका छन् भने अन्नपूर्ण आधार शिविर जानेको सङ्ख्या दैनिक ५ सय जना भन्दा बढी छ । बेनीका होटल व्यवसायी हरिकृष्ण श्रेष्ठले अन्नपूर्ण आधार शिविर र मुस्ताङमा यसपालि कल्पना गरेको र भएका होटलहरुको क्षमता भन्दा धेरै सङ्ख्यामा पाहुना आएका बताए । ‘दसैँ र तिहारमा मुक्तिनाथ र उपल्लो मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो विगतदेखिनै भए पनि यसपालि अन्नपूर्ण आधार शिविर जानेहरू पनि थपिँदा होटल, रेष्टुरेन्ट र होमस्टेहरुले थेग्न नसकेका हुन्,’ उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनका लागि राज्यले बनाएको नीतिको व्यवहारिक कार्यान्वयन नहुँदा घुमेर रमाउन आएका पाहुनाहरूले गोजीमा पैसा भएर पनि खाना र बस्नको लागि दुःख पाउने अवस्था आएको हो ।’ होटलको क्षमताले नथेकेपछि म्याग्दी र मुस्ताङका प्रशासन, सुरक्षा निकाय, होटल व्यवसायी र उद्योग वाणिज्य सङ्घले अग्रिम बुकिङ गरेर घुम्न आउन अनुरोध, कुश्मा, बागलुङ र पोखराका होटल, व्यक्तिका घर, सामुदायिक भवन र धर्मशालामा बसोबासको व्यवस्था मिलाएका छन् । म्याग्दीका होटलमा दैनिक २ हजार र मुस्ताङमा दैनिक ३ हजार जनासम्म पाहुनालाई सहज रुपमा व्यवस्थापन गर्न सकिने क्षमता छ । भुरुङ-तातोपानीका होटल व्यवसायी राजु हमालका अनुसार अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग, म्याग्दी र मुस्ताङका होटलहरु यो हप्ताको अन्तिमसम्म बुक भइसकेका छन् । ‘छठपछि स्कुल, कलेज, कार्यालय खुल्ने हुँदा पाहुनाको आगमन दर घटेपनि अकुपेन्सी राम्रो छ,’ उनले भने, ‘जेनजी आन्दोलनका कारण सोह्र श्राद्ध र प्रतिकूल मौसमले दसैँ लगत्तै पर्यटक आगमन नहुँदा निराश भएका व्यवसायीलाई राहत मिलेको छ ।’ सडक यातायातको सहज पहुँच र प्रचारप्रसारका कारण मुस्ताङ र अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । ‘मुक्तिनाथ, कागबेनीको तीर्थयात्रा गर्ने, हिमाल, उजाड पहाड, तालतलैया हेर्न, हिमाली जनजीवन र संस्कृतिमा रमाउने तथा गाडी चढेरै कोरला नाकासम्म पुग्न सकिने भएपछि मुस्ताङ धेरैको रोजाइमा परेको हो,’ उनले भने, ‘यात्रामा हिमालको फेदीमा पुग्न सकिने भएकाले युवायुवती अन्नपूर्ण आधार शिविरमा आकर्षित भएका हुन् ।’ सामाजिक सञ्जालका सामग्री र सञ्चार माध्यममा प्रकाशन भएका समाचारले पनि पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुगेको अध्यक्ष अध्यक्ष श्रेष्ठको भनाइ छ । पर्यटक आगमनले म्याग्दी र मुस्ताङमा होटल व्यवसायीलाई क्षमता र सुविधा वृद्धिका लागि प्रेरित, नयाँ लगानीको सम्भावना देखाउनुका साथै अन्नपूर्ण आधार शिविरको पदमार्गमा सीमित सङ्ख्याको क्षमतामा रहेका होटलहरूको क्षमता बढाउन राज्यलाई दबाब पुगेको उनले बताए । भ्रमणमा आउने पाहुनाहरूले अग्रिम बुकिङ गरेर आएमा व्यवस्थापनमा सहज हुने उनको भनाइ छ । बेनी–जोमसोम सडकका म्याग्दी खण्डको अधुरो सडक स्तरोन्नतिलाई पूर्णता दिनुपर्ने, पहिरो तथा कटान प्रभावित ठाउँको सडकलाई सुरक्षित बनाउन, होटलहरूको वर्गीकरण गरी सेवा शुल्कमा नियमित गर्नुपर्ने पर्यटकले बताएका छन् । अन्नपूर्ण आधार शिविर जाने पर्यटकहरूले नारच्याङ-हुमखोला सडक मर्मत, यातायात भाडा दरमा एकरूपता, पदमार्गका होटलहरूको क्षमता र सुविधा थप, सञ्चार तथा विद्युत् सुविधाको व्यवस्थापनको आवश्यकता औंल्याएका छन् । म्याग्दी १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तीनै तहका सरकारका निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), निजी क्षेत्र र सरोकारवालाहसँग समन्वय गरी पर्यटन क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानको पहल गर्ने बताए । रासस
अमेरिका र चीनबीच दुर्लभ खनिज र भटमास खरिदको सम्झौता हुने सङ्केत
काठमाडौं । चीनले दुर्लभ खनिजहरूको निर्यात प्रतिबन्धलाई ढिलाइ गर्न र अमेरिकी भटमास खरिद पुनः सुरु गर्न अस्थायी सम्झौताका लागि सहमति नजिक पुगेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताएका छन् । यो सम्झौता भएमा अमेरिकाले चीनलाई लगाउने भनेको ठूलो कर वृद्धिलाई रोक्न सकिने सङ्केत पनि गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १ मा चीनले दुर्लभ खनिजको विश्वव्यापी निर्यात नियन्त्रण गरेमा चीन विरुद्ध १०० प्रतिशत कर बढाउने चेतावनी दिएका थिए । ‘मलाई लाग्छ कि हामीले यसलाई रोक्यौँ, यो सङ्कट हाललाई टरेको छ,’ बेसेन्टले एबीसीको ‘दिस विक’ सँग भने । चीनले दुर्लभ खनिजको निर्यात प्रतिबन्धलाई एक वर्षको लागि ढिलाइ गर्नेछ भने अमेरिकाले अवस्थालाई पुनः जाँच गर्नेछ र पछि निर्णय लिने लिनेछ,’ बेसेन्टले भने । बेइजिङले क्वालालम्पुरमा उपप्रधानमन्त्री हे लिफेङसँगको अमेरिकी प्रतिनिधिमण्डलसँगको वार्तामा व्यापार विवाद कम गर्ने सहमतिका लागि ‘पर्याप्त’ कृषि सामग्रीको खरिद गर्न सहमति जनाएको तर सम्झौतामा हस्ताक्षर भने नभएको जनाएको छ ।
निर्वाचन नजिकिदै गर्दा गृहमन्त्री अर्याल मधेस भ्रमणमा जाँदै
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा गृहमन्त्री ओमप्रकाश अर्यालले मधेस प्रदेशको भ्रमण गर्ने भएका छन् । निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था प्रत्यक्ष बुझ्न उनी आज सोमबार जनकपुर प्रस्थान गर्न लागेका हुन् । मन्त्री अर्यालसँगै उद्योग तथा कानुन मन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि भ्रमण दलमा रहने छन् । गृह मन्त्रालयका अनुसार उनीहरू दुई दिन सोमबार र मंगलबार मधेस प्रदेशमा रहने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा मन्त्री अर्यालले प्रदेशभित्रका सुरक्षा निकायका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, र स्थानीय प्रशासनसँग समन्वय बैठक गर्ने तयारी गरेका छन् । अर्यालले निर्वाचन सुरक्षासँग सम्बन्धित तयारी, जोखिम मूल्यांकन, मतदाताको सुरक्षासम्बन्धी योजना, र संवेदनशील स्थानहरूको अनुगमन गर्ने कार्यक्रम समेत रहेको मन्त्रालयले जनाएको छ। यसै क्रममा मन्त्री अर्यालले जनकपुर स्थित सुरक्षा निकायका कार्यालयहरूको निरीक्षण गरी आगामी निर्वाचनका लागि आवश्यक स्रोत, जनशक्ति, र व्यवस्थापनका विषयमा प्रत्यक्ष जानकारी लिने बताइएको छ । भ्रमण दलका सदस्यहरूले सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गर्दै निर्वाचन अवधिमा हुने सम्भावित चुनौती र समाधानका उपायबारे छलफल गर्ने कार्यक्रम पनि तय गरिएको छ । गृहमन्त्री अर्यालले भ्रमणका क्रममा मधेसमा मनाइने छठ पर्वका केही कार्यक्रममा समेत सहभागी हुनेछन्। स्थानीय प्रशासनले छठ पर्व र आसन्न निर्वाचनलाई दृष्टि गत गर्दै सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार निर्वाचन नजिकिदै गर्दा शान्ति सुरक्षाको स्थिति स्थिर राख्न र प्रदेश स्तरीय संयन्त्रबीचको सहकार्य सुदृढ बनाउन यो भ्रमणलाई विशेष महत्त्वका रूपमा लिइएको छ ।
प्रभु बैंकबाट एकैपटक १० जना सेयरधनी बाहिरिँदै
काठमाडौं । प्रभु बैंकका एकै पटक १० जना संस्थापक सेयरधनी सेयर बिक्री गरेर बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो नामको सेयर बिक्री गरेर एकैपटक १० जना सेयरधनी बाहिरिन लागेका हुन् । बैंकका अनुसार सेयरधनीहरूले आफ्नो नाममा रहेको ४ लाख २२ लाख ८०७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । जसमध्ये उमेशचन्द्र राइले १८ हजार ९२० कित्ता, बलराम न्यौपानेले २ लाख कित्ता, विनोद कुमार अग्रवालले ४० हजार ५५७ कित्ता, कोपिला ढुंगाना घिमिरेले १८ हजार २९५ कित्ता, देव प्रसाद श्रेष्ठले २८ हजार ६२ कित्ता सेयर बिक्रीमा राखेका हुन् । यस्तै, खेतराज सिटौलाले १४ हजार २१७ कित्ता, उत्तम बरालले ५६ हजार १४२ कित्ता, सन्ध्या थापा क्षेत्रीले १६ हजार ८८ कित्ता, निर बहादुर सुनुवारको २ हजार ७३४ कित्ता र महेश कुमार अग्रवालले २७ हजार ७९२ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त संस्थापक सेयरमा जो कोहि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
सूर्यबिना जीवन सम्भव छैन, छठले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ पर्व-२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरिति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास लिए । छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ । सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोबाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास छ । राष्ट्रपति पौडेलले भने, ‘सूर्यबिना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घय दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृति प्रतिको दायित्व र पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ ।’
आँबुखैरेनी मुग्लिन सडक आज राति २ घण्टा बन्द हुने
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडक खण्ड आज सोमबार राति २ घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका-४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । साँखरमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गरिने कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीले जानकारी दिए । गत असोज १८ गते सडक भासिएको उक्त खण्ड हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । यसअघि विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मर्स्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको हो ।
आन्दोलनरत कर्मचारीलाई कार्यस्थलमा फर्कन युनिभर्सल मेडिकलको आह्वान
काठमाडौं । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) शिक्षण अस्पताल प्रशासनले आन्दोलनरत कर्मचारीलाई कार्यस्थलमा फर्कन आह्वान गरेको छ । युसिएसएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पिएसले प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको उपचारलाई मध्यनजर गर्दै आकस्मिकसहित सघन उपचार, प्रसूतिलगायत सबै सेवाहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी नियमित कार्यमा फर्किन आह्वान गरे । वर्तमान परिवेशमा आन्दोलनका कारण कुनै पनि बिरामीलाई प्रतिकूल प्रभाव पर्न गएमा सोको जिम्मेवार तथा जवाफदेही आन्दोलनकारी पक्ष नै हुने समेत विज्ञप्तिमा जनाइएको छ । हाल देखिएका समस्यालाई वार्ताको माध्यमबाट समाधानका लागि आवश्यक ‘समन्वय तथा सहयोग’ गरिदिन स्थानीय प्रशासन तथा सरोकार भएका सबैमा अपिल समेत गरिएको छ । यस कलेजमा कार्यरत नर्सिङ तथा प्यारामेडिक्स कर्मचारीले प्रशासन समक्ष विभिन्न माग राखी विसं २०८२ कात्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले कात्तिक ११ गते मङ्गलबार दिउँसो १ बजेसम्म पनि माग सम्बोधन नभए पूर्ण रूपमा ‘पेन डाउन’ गर्न बाध्य हुने चेतावनी दिएका छन् ।