यसपालि ६ दिन यमपञ्चक, यस्तो छ कारण
महोत्तरी । उज्यालो र उमङ्गको रमाइलो चाड दिपावली आजदेखि सुरु भएको छ । सामान्यतः पाँच दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले एक दिन बढेर छ दिन भएको हो । मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्व मैथिल परम्परानुसार आज ‘धनतेरस’ बाट सुरु भएर आउने बिहीबार ‘भैयादुज’ मनाइएसँगै सम्पन्न हुनेछ । नेपाली बोलीमा तिहार भनिने यो पर्व पाँच दिनको हुँदा यसलाई ‘यमपञ्चक’ भनिँदै आइएको छ । यसपालि बितेको शारदीय नवरात्र जस्तै यमपञ्चक एक दिन बढेको हो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मिथिलामा दीपावली भनिने ‘यमपञ्चक’ यसपालि तिथिको भोग घटबढले छ दिन भएको हो । यसपालिको शारदीय नवरात्र १ः१० दिनकोे भएको थियो । महोत्तरीसहित मधेसका प्राचीन मिथिला क्षेत्रमा चाडपर्व र तिथिको टुङ्गो मिथिला पञ्चाङ्गम् र विद्यापति पञ्चाङ्गम्बाट निधो गरिन्छ । यमपञ्चकको पहिलो दिन धनतेरस कात्तिक कृष्ण त्रयोदशीको गोधुली साँझपछिको रात्रिभोगको समयमा मनाउने चलन रहेको छ । यसैले आज अपराह्न १ः२३ बजेपछि त्रयोदशी सुरु भइ भोलि आइतबार दिउँसो १ः५६ बजेसम्म रहने पञ्चाङ्गमा उल्लेख रहेको पण्डित महेशकुमार झा बताउँछन् । 'त्रयोदशीको साँझ र रात एकैदिन परेको हुँदा धनतेरस आजै मनाइन्छ', झा भन्छन्, 'तर त्रयोदशी तिथिमै गरिने दीपावली पर्वको कागपूजा भने भोलि आइतबार मध्याह्नसम्म गरिनुपर्छ ।' धनतेरस सन्ध्याकालसँगै रात्रिमा र कागपूजा दिनमा मनाउने चलनले यस्तो भएको उनको कथन छ । यसैगरी दीपावली पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजा पर्सी सोमबार साँझ नै गरिने छ । सो दिन सूर्योदय चतुर्दशी तिथि भए पनि दिउँसो ३ बज्नुअघि औँसी सुरु हुने हुँदा लक्ष्मीपूजा सोही दिन गरिने पञ्चाङ्गले निर्देश गरेको झाको भनाइ छ । दीपावली पर्वका धनतेरस र लक्ष्मीपूजा सन्ध्याकालमा सुरु गरिन्छ । यस्तै, यसै पर्वको गौपूजा, गोधनपूजा र भैयादुज दिनमा गरिने चलन छ । औँसीको रातमा गरिने लक्ष्मीपूजा सोमबार गरिए पनि सोही तिथिमा गरिने गौपूजा भने मङ्गलबार बिहान गरिने झाले जानकारी दिनुभयो । मैथिल परम्पराको दीपावली पर्वको गोधनपूजन कात्तिक शुक्ल प्रतिपदा र भैयादुज द्वितीया तिथिमा गरिन्छन् । यसअनुसार यसपालि गोधन बुधबार र भैयादुज बिहीबार सम्पन्न गरिनुपर्ने उनले बताए। सामान्यत शारदीय नवरात्रको तिथिको भोग घटबढको प्रभाव त्यसलगत्तैको दीपावली पर्वमा पनि पर्ने गरेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउँछन् । 'यसपालि शारदीय नवरात्र चौथी (चतुर्थी) तिथि दुई दिन भोगमा रहँदा १० दिनको परेको थियो', उनी भन्छन् 'यसैगरी यमपञ्चक तिथिको भोग घटबढले छ दिनको भएको छ ।' दीपावली पर्व देशभर उमङ्ग र उत्साहसाथ मनाउने परम्परा छ । खासगरी पहिलो दिनको धनतेरस र लक्ष्मीपूजा मिथिलामा विशेष मानिन्छन् । रासस
चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको संख्या ५० करोड नाघ्यो
बेइजिङ । चीनमा जेनेरेटिभ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको छ । सन् २०२५ को जुन महिनासम्म ५० करोडभन्दा बढी मानिसले यो प्रविधि प्रयोग गरिरहेको चीन इन्टरनेट सञ्जाल सूचना केन्द्र (सीएनएनआईसी) द्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार, पछिल्ला ६ महिनाभित्र मात्रै करिब २६ करोड ६० लाख नयाँ प्रयोगकर्ता थपिएका छन् । सन् २०२४ को अन्त्यमा २४ करोड ९० लाख प्रयोगकर्ता रहेका थिए भने अहिले यो सङ्ख्या बढेर ५१ करोड ५० लाख पुगेको हो। यो वृद्धिसँगै चीनमा जेनेरेटिभ एआई प्रविधिको प्रयोग दर ३६.५ प्रतिशत पुगेको जनाइएको छ। यसले प्रविधिप्रति जनताको चासो र पहुँच द्रुत रूपमा फैलिएको संकेत गर्छ । विशेषज्ञहरूका अनुसार यस्तो प्रविधिले शिक्षा, व्यापार, सञ्चार तथा मनोरञ्जनका क्षेत्रहरूमा महत्वपूर्ण परिवर्तन ल्याइरहेको छ ।
नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँ : मन्त्री घिसिङ
काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् । कोषका कामकारबाहीबारे जानकारी लिँदै आज उनले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए । मन्त्री घिसिङले विद्युतीय सवारीसाधन, चार्जिङ स्टेसनजस्ता ‘इ-मोबिलिटी’का क्षेत्रमा लगानी गर्न सम्बद्ध पक्षलाई सुझाव दिए । 'ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र नगरपालिकासँगको साझेदारीमा लगानी परिचालन गरिने यस कोषबाट फोहर व्यवस्थापन र ऊर्जा उत्पादनजस्ता परियोजनामा लगानी गर्न सकिन्छ । त्यसको सम्भाव्यता अध्ययन गरौँ । अब लगानी गर्नुपर्ने तथा लगानी गर्ने क्षेत्राधिकारलाई अझ विस्तार गर्नका लागि आवश्यक कानुनी प्रबन्ध गर्न सरकार तयार छ', उनले भने । हाल हरित जलवायु कोषबाट मान्यता प्राप्त हुने क्रममा रहेको र मान्यता प्राप्त भएपछि कोषलाई हरित ऊर्जासम्बन्धी परियोजनामा लगानीका लागि ठूलो आर्थिक अनुदान सहयोग उपलब्ध हुने मन्त्री घिसिङको विश्वास थियो । कोषका कार्यकारी निर्देशक विनोदप्रकाश पण्डितले कोषको वित्तीय स्रोतका रूपमा रु सात अर्ब स्वःपुँजी (इक्विटी) रहेको, एसियाली विकास बैंकमार्फत रु पाँच अर्ब १९ करोड, विश्व बैंकबाट रु १२ करोड र नेपाल सरकारबाट रु दुई अर्ब ऋणका रूपमा प्राप्त भएको जानकारी दिनुभयो । कोषले रु १६ अर्ब ऋण प्रवाह गरेको उनले बताए । कोषले सहरी पूर्वाधार आयोजनामा वित्तीय (ऋण/अनुदान) र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । कोषबाट नगर क्षेत्रमा बसपार्क, खानेपानी, जग्गा विकास, बहुउद्देश्यीय भवन निर्माणलगायत क्षेत्रमा लगानी भइरहेको छ । हालैको ‘जेनजी’ आन्दोलनका कारण क्षति भएका नगरका भवनको पुनर्निर्माणमा कोषलाई परिचालन गर्न सकिनेबारे पनि त्यसअवसरमा छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।
सातवटा सवारीसाधन एकापसमा ठक्कर खाँदा २१ जना घाइते
चितवन । भरतपुर महानगरपालिका–२९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शनिबार बिहान ७ः३० बजे उक्त दुर्घटना भएको हो । घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि ना७ख ९६०७ नम्बरको टेलर, त्यस पछाडि बा प्र ०६–००१ ग ०४८४ नम्बरकोे इलेक्टिक माइक्रो, त्यस पछाडि ग२ख १६२६ नम्बरको बस, त्यस पछाडि ना३च ३२५६ नम्बरको बलेरो, त्यस पछाडि बिएबी ८४७० नम्बरको कार ठक्कर खाएका हुन् । सवारीहरू ठक्कर खाँदा घाइते भएकामध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात
काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको ६ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता ६ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । पाइपलाइनबाट हालसम्म ६ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टितेल आयात भएको प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । अहिले मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जसम्म पेट्रोल, डिजेल र मट्टितेल आयात भइरहेको छ । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए । सोही दिनदेखि नै पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । यस्तै २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मङ्सिर १९ गतेदेखि मट्टितेल पाइपलाइनबाट ल्याउन थालिएको हो । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाको कूल लम्बाइ ६९ दशमलव दुई किलोमिटर छ । यसमध्ये भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६ दशमलव दुई किलोमिटर छ । पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी ‘मल्टी प्रोडक्ट पाइपलाइन’ निर्माण गरिएको छ । पाइपलाइनबाट आयातित पेट्रोलियम पदार्थले नेपालको करिब ७० प्रतिशत माग पूर्ति हुँदै आएको छ । अमलेखगञ्जबाट काठमाडौँ, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगञ्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगञ्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ । 'नेपालको खपतको ७० प्रतिशत पेट्रोलियम पदार्थ अमलेखगञ्जबाटै आपूर्ति हुन्छ', प्रमुख आचार्यले भने । पाइपलाइनबाट दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ अमलेखगञ्ज ल्याउन सकिन्छ । तर पेट्रोलियम पदार्थको माग नबढेकाले पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुने अवस्था बनेको छैन । 'दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गर्नुपर्ने अवस्थामा निगम पुगेको छैन', प्रमुख आचार्यले भने। पेट्रोलियम पाइपलाइन परियोजनाको पहिलो चरणअन्तर्गत भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइपलाई बिच्छयाइएको थियो । दोस्रो चरणमा अमलेखगञ्जमा पेट्रोलियम भण्डारण क्षमता अभिवृद्धिसँगै ‘अटोमेसन’को काम सम्पन्न गरिएको हो । पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत डिपोमा पेट्रोल, डिजेल र मट्टिटेल भण्डारणका लागि चार वटा नयाँ ‘भर्टिकल ट्याङ्क’ निर्माण गरिएको छ । पाइपलाइनबाट ल्याइएका पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न दुई वटा ट्रान्समिक्स ट्रयाङ्क, अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ । अमलेखगञ्जमा भण्डारण क्षमता विस्तार गरी १७ हजार ५०० किलोलिटर पेट्रोल, २७ हजार ५०० किलोलिटर डिजेल र दुई हजार २०० किलोलिटर मट्टितेल राख्न सकिने बनाइएको छ । अमलेगञ्ज डिपो नेपालको सबैभन्दा ठूलो र अत्याधुनिक रहेको छ । पूराना र नयाँ गरी अमलेखगन्जमा ९४ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने भएको छ । मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न विसं २०३० मा अमलेखगञ्ज डिपोको निर्माण सुरु गरिएको थियो । करिब ६७ हजार सात सय २४ वर्गमिटरमा फैलिएको सो डिपो निर्माण सम्पन्न गरी २०३३ माघबाट सञ्चालनमा आएको थियो । देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ । अमलेखगन्जस्थित डिपोमा हाल १५ हजार ११० किलोलिटर पेट्रोल, २४ हजार ८१० किलोलिटर डिजेल र दुई हजार २७० किलोकिलटर मट्टितेलको भण्डारण क्षमता रहेको छ । सरकारले सातै प्रदेशमा कम्तीमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ । सोही योजनाअनुसार निगमले अहिले विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारका कार्यक्रम अघि बढाइरहेको छ । पेट्रोलियम पाइपलाइनबाट इन्धन आयात गर्दा सडक मार्गमा आउने अवरोध अन्त्य भएको छ । “टयाङ्कर दुर्घटनामा पर्नेदेखि सडक मार्गमा आउनसक्ने समस्याको जोखिम कम भएको छ”, प्रमुख आचार्यले भने “इन्धन चोरी तथा मिसावटको प्रश्न उठ्ने नै भएन ।” पाइपलाइनबाट इन्धन ढुवानी गर्दा वातावरणीय प्रभाव पनि कम पर्ने उनको भनाइ छ । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा लाग्ने ठूलो खर्च पनि जोगिएको छ । पाइपलाइनबाट तेल आउन थालेपछि वार्षिक रु तीन अर्ब ढुवानी खर्च बचत भएको छ । ढुवानी खर्च वचत भएपछि निगमले इन्धनको उपभोक्ता मूल्य पनि घटाएको छ । सिलगुडी–चारआली र अमलेखगञ्ज–लोथर पाइपलाइन राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सरकारले सिलगुडी (भारत)–चारलआली (झापा) र अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन र ग्रीन फिल्ड टर्मिनल निर्माण आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तोकी निर्माणको काम अघि बढाएको छ । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य प्रारम्भ भइसकेको छ । निगमले गत साउन १६ गतेदेखि दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम थालेको हो । राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ विघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिनेछ । अमलेखगञ्जदेखि लोथरसम्मको दूरी ६२ किलोमिटरको दूरीमा १० दशमलव ७५ इञ्चको पाइपलाइन बिच्छयाइने निगमले जनाएको छ । उक्त परियोजना तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना प्रमुख प्रदीप यादवले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिनेछ । बासठ्ठी किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रूपले ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ । पाइपलाइनबाट २७३ किलोलिटर प्रतिघन्टाको गतिमा तेल आपूर्ति गर्न सकिनेछ । पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिने निगमले जनाएको छ । लोथरमा १६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेसन निर्माण हुनेछ । त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्की निर्माण हुनेछ । यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा र मट्टितेल भण्डारणका लागि आठ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की निर्माण गरिनेछ । यसै हवाई इन्धनका लागि तीन हजार ६०० किलोलिटर क्षमताका तीन वटा टयाङ्क निर्माण गरिने निगमले जनाएको छ । लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स टयाङ्क निर्माण गरिनेछ । पाइपलाइनसहित भण्डारण गृह निर्माण लागत रु १४ अर्ब नौ करोड ६० लाख लाग्ने अनुमान गरिएको छ । अशोक घिमिरे/रासस
आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच सम्झौता, कर्मचारीले बैंकिङ सुविधा पाउने
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच एक सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार लघुवित्त संस्थामा कार्यरत कर्मचारीहरूले प्रभु बैंकबाट छुटसहितका बैंकिङ सेवाहरू प्राप्त गर्नेछन् । उक्त सम्झौता पत्रमा आरम्भ चौतारी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुनले हस्ताक्षर गरे । सम्झौतापछि आरम्भ चौतारीका कर्मचारीहरूले प्रभु बैंकको उत्कृष्ट तथा सुविधा सम्पन्न बैंकिङ सेवा प्रयोग गर्ने विश्वास बैंकले लिएको छ ।
सानिमा बैंकको तिहार र छठ अफर : विभिन्न मर्चेन्टहरुमा मिठाई किन्दा क्यासब्याक र छुट
काठमाडौं । सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यासव्याक तथा छुटको व्यवस्था गरेको छ । योजना अवधिभर ग्राहकहरूले साझेदार मर्चेन्टहरुबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् २०० सम्मको क्यासब्याक र थप १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले पूजा स्वीट्स चाट हाउस (न्युरोड, काठमाडौंं), बर्फी स्वीट्स (बालुवाटार, न्युरोड, कुमारीपाटी), हिमालयन स्वीट्स एण्ड बेकरी (हेटौडा) र आँगन स्वीट्स (चिप्लेढुङ्गा र सृजना चोक, पोखरा) मा गएर यो योजनाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ । यो योजना २०८२ कार्तिक १ देखि १० गतेसम्म १० दिनका लागि लागू हुनेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सिटिजन्स बैंकका ग्राहकले काठमाडौं मेडिकल कलेजका सेवामा छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक र सिनामगंलस्थित काठमाडौं मेडिकल कलेजबीच ग्राहकलाई छुट दिने सम्बन्धमा एक सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले काठमाडौं मेडिकल कलेजमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकलाई लाभ मात्रै नभई नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने बैंकको भनाइ छ । बैंकले डिजिटल बैंकिङ माध्यमबाट भुक्तानी गर्न तथा प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।